कपिलवस्तु एमालेको जनसभा :ओली नरम, शङ्कर कडा



कपिलवस्तु,पुस ६ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा न ८ बहादुरगंजमा आयोजित नेकपा एमालेको जनसभा कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नरम देखिए। अधिकांश कार्यक्रमहरूमा अन्य दलका नेताहरूको आलोचना गर्ने ओली कपिलवस्तुमा भने नरम भएर भाषण गरे ।

भाषणको अधिकांश समय आफ्नो सरकारको पालामा गरेका कामहरू सुनाए । नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकारको आलोचना नगरेका ओलीले यो सभामा हास्यास्पद कुरा पनि गरेनन् । आफ्नो नेतृत्वको सरकारले गरेका कामहरू सुनाउँदै पार्टी प्रति जनताको आर्कषण बढिरहेको दाबी गरे ।

नौमुरे जलविद्युत परियोजना ,हुलाकी सडक, फुसको छानो हटाउने लगायतका योजनाहरू आफ्नो कार्यकालमा सुरु भएको ओलिले बताए । महासचिव शङ्कर पोख्रेल सहित पुगेका ओलीले कपिलवस्तुका सबै क्षेत्र र प्रदेशमा एमालेले जित्ने बताए । आफूले पार्टीलाई दैनिक १८ घण्टा दिएर काम गरेको भन्दै सबै तल्लो तह सम्मका नेताहरूले यसै गरी काम गर्न सुझाव दिए । अबको चुनाव २०६४ सालको जस्तो निर्वाचन हुने भन्दै केही पार्टीका नेताहरू हिँडेकोले अबको निर्वाचनमा त्यस्तो कुनै पनि हालतमा नहुने जिकिर गरे । काँग्रेस माओवादी जसपा लगायत दलहरूको चर्का आलोचना सुन्ने आसमा रहेका कार्यकर्ता ओली एकाएक नरम हुँदा अचम्म परे ।

उनले नेपालको पानीले भारतमा सिँचाइ भइरहेको बताए । नेपालको जमिन बाझो रहेर भारतले सिचाई गर्न नपाउने जिकिर गरे । ओलीले नरम भाषण गरे पनि महासचिव शंङकर पोखरेल भने सरकारको चर्का आलोचना गरे । अहिले सरकार प्रति रुष्ट रहेका पोखरेल जनताले मत दिए पनि परमादेशका कारण केन्द्र र प्रदेश सरकार ढलेको बताए । उनको भाषण अवधि नै अहिलेको सरकारको आलोचना,आरोप र पार्टीका प्रशंसा गर्दैमा बित्यो ।

प्रतिक्रिया दिनुहोस्