कोरोना बीमा विवाद : कोरोना बीमामा अनुदान दिन आनाकानी



काठमाडौं,पुस ७ । सरकारले कोरोना बीमाको प्रिमियममा दिने भनेको अनुदान रकम पनि पूर्णरूपमा निकासा गरेको छैन । कोरोना बीमाको दाबीमा आप्mनो दायित्व बराबरको रकमसमेत उसले निकासा गरेको छैन ।

कोरोना बीमाको प्रिमियममा सरकारले अनुदान बापत २ करोड ११ लाख २७ हजार रुपैयाँ दिन बाँकी छ, जुन गत आवमा नै निकासी हुनुपर्ने हो । तर, त्यति सानो रकम पनि सरकारले भुक्तानी नदिएको बीमा कम्पनीहरू बताएका छन् । सरकारले दाबीका लागि दिनुपर्ने ११ अर्ब ८२ करोड रकम पनि निकासा नगर्दा बीमितहरूले अभैm पनि दाबीको भुक्तानी पाएका छैनन्  ।  

‘सरकारले अनुदानबापत दिनुपर्ने सानो रकम पनि अझै निकासी गरेको छैन । जुन गत आवमा नै पाउनुपर्ने हो,’ एक कम्पनीका अधिकारीले भने, ‘यही अवस्था हो भने दाबीका लागि पाउनुपर्ने अर्बाै रकम निकासी गर्न थप झमेला बेहोर्नुपर्ने देखिन्छ ।’ यद्यपि, सरकारले यस बापत झण्डै ४२ करोड रुपैयाँ भने भुक्तानी गरिसकेको छ ।

गत आवको वार्षिक बजेटमा नै कोरोना बीमा गर्दा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको थियो । सोहीअनुसार बीमा कम्पनीहरूले आव २०७७/७८ को साउनदेखि ग्राहकबाट ५० प्रतिशतमात्र शुल्क लिएर कोरोना बीमा गरे । तर, सरकारले त्यसमा अनुदानमार्पmत दिने भनेको सानो रकम पनि निकासा गर्न बाँकी रहेको छ ।

नेपाल बीमक संघका महासचिव चंकी क्षत्रीले कोरोना बीमामा अनुदानमार्पmत पाइने रकमसमेत पूर्णरूपमा नपाएको बताए । उनका अनुसार सरकारले अभैm २ करोड ११ लाख २७ हजार भुक्तानी गर्न बाँकी छ । यसमा बीमा समितिले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ । साथै, कोरोना बीमाको दाबीबापत पाउनुपर्ने रकम पनि तत्काल निकासी हुनुपर्ने उनले बताए ।

अर्थ मन्त्रालयका प्रवक्ता रीतेश शाक्यले यस विषयमा छलफल भइरहेको बताए । आवश्यक प्रक्रिया पूरा गरेर उक्त रकम निकासी हुने उनको भनाइ छ । ‘हामीले कोरोना बीमाको दाबी रकम कसरी गर्ने भन्ने विषयमा छलफल गरेका छौं । यसका लागि आवश्यक पर्ने पैसा के कसरी जुटाउने भन्ने विषयमा बीमा समितिसँग स्पष्ट रूपमा मोडालिटी ल्याउन भनेका छौं । तर, त्यो आएको छैन,’ उनले भने, ‘त्यसैले पनि यसमा केही ढिलाइ भएको हो । यस विषयमा हामी गम्भिर छौं  ।’

बीमा समितिले २०७७ वैशाखदेखि कोरोना बीमासम्बन्धी पालिसी लागू गरेको थियो । यसमा दायित्व बढी भएपछि २०७७ भदौमा यसको कारोबार स्थगित पनि गरिएको थियो । तर, पछि सरकारले साढे ३ अर्बभन्दा माथिको दायित्व लिने भएपछि यो बीमा कारोबार पुनः सुचारु गरिएको थियो । चालू आवदेखि भने यो बीमाको कारोबार बन्द नै गरिएको छ ।

सरकारले आफ्नो दायित्व बराबरको भुक्तानी नदिँदा यो बीमा अझै पनि विवादमा रहेको छ । बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी, लघु बीमा पुल तथा कम्पनीहरूले भने आफ्नो दायित्य बराबरको भुक्तानी दिइसकेका छन् । कोरोना बीमामा कुल १३ अर्ब १४ करोड १७ लाख ३१ हजार ६०० रुपैयाँको बीमा दाबी परेको पाइएको छ । त्यसमा बीमा समितिले १ अर्ब, पुनर्बीमा कम्पनीले १ अर्ब,  लघु बीमा पुलले १ अर्ब र बीमा कम्पनीहरूको महाविपत्ति कोषबाट रू. ५० करोड भुक्तानी भइसकेको छ । बाँकी सरकारले भुक्तानी गर्नुपर्ने हो । तर, त्यो हुन सकेको छैन । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्