प्रधानमन्त्री रोजगार कार्यक्रमको पारिश्रमिक श्रमिकको हातहातमा बाड्दै पञ्चकन्याका अध्यक्ष तामाङ



नुवाकोट, पुस ७ । पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले प्रधानमन्त्री रोजगार कार्यक्रमको पारिश्रमिक वापतको रकम श्रमिकको हातहातमा बाडेका छन् ।

आफ्नो परिश्रम वापतको रकम गाउँकै प्रतिनिधिको हातबाट लिन पाउँदा स्थानीय श्रमिक दङ्ग परेका थिए । आफुले दुख गरेको श्रम गाउँकै प्रतिनिधिको हातबाट लिन पाउँदा सबैजना फुरुङ्ग भएको प्रधानमन्त्री रोजगार संयोजक सरोज खातीले बताए । पर्यटकीय पार्क निर्माणार्थ ज्याला स्वरुप संघीय सरकार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कुल २४ लाख रकम विनियोजन भएको थियोे । पारिश्रमिक रकम वितरण कार्यक्रममा अध्यक्षका साथ गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टको समेत सहभागिता रहेको थियो ।

पार्क निर्माणमा श्रम गरेका नागरिकको पारिश्रमिक अध्यक्ष तामाङले वितरण गरेका हुन। रकम हात लागेपछि स्थानीय चन्द्रबहादुर तामाङले हर्षित हुँदै भने- ‘दुख गरेको रकम हात सजिलै लाग्दा हर्ष लागेको छ।’ यस अघि ठेक्कापट्टाका काममा हण्डर खाएको दुखेसो तामाङको थियोे ।

पार्क निर्माणका चरणमा खटिआएका ८५ जनालाई अध्यक्ष तामाङले पारिश्रमिक वापतको रकम प्रदान गरेका थिए । सुरुमा स्थानीयले श्रमदान गर्नुपर्ने बताइए पनि आर्थिक आय कमजोर भएका स्थानीयलाई ज्यालास्वरुप दोस्रो चरण रकम वितरण गरिएको अध्यक्ष तामाङ बताउँछन् ।

संघीय सरकार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको प्राप्त रकम पार्क निर्माण समयमा घाँस तथा झाडी फाड्ने, होम स्टे निर्माण, त्यस्तै अर्को आयोजना भुमे थान मन्दिर जाने सिढी निर्माण र स्थानीय स्तरमा बैंक नहुदा नगद भुक्तानी गरिएको सो फण्डका संयोजक सरोज खातीले बताए ।

प्रतिक्रिया दिनुहोस्