उद्योग संगठन–गभर्नर भेटवार्ता : तरलता अभाव सहज बनाइदिन संगठनको आग्रह



विराटनगर,पुस ८ । नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुको आयातमा गरेको कडाइको स्वागत गर्दै औद्योगिक मालवस्तु आयातमा तरलता अभावको प्रभाव कम गरिदिन गभर्नरसँग आग्रह गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेल नेतृत्वको टोलीले मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर उक्त आग्रह गरेको हो ।

संगठनको टोलीले विलासिताका वस्तुको आयातका लागि प्रतीतपत्र खोल्दा ५० देखि शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले स्वदेशी उत्पादनलाई बढावा दिने भन्दै राष्ट्र बैंकको निर्णय स्वागतयोग्य रहेको धारणा राखेको छ । स्वदेशी उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्न चालेको कदमले औद्योगिक कच्चापदार्थ तथा मिल मेशिनरीको आयातमा सहजीकरण हुने संगठनको अपेक्षा छ । तर, यद्यपि केन्द्रीय बैंकको उक्त नीतिले विलासिताका वस्तुको आयातमा एकाधिकार हुन सक्नेतर्फ समेत सचेत हुनुपर्ने संगठनद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले सोमवार बैंक तथा विदेशी विनिमय कारोबार गर्न इजाजत पाएका संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै आयातका लागि प्रतीतपत्र खोल्दा मूल्यको ५० देखि शतप्रतिशतसम्म मार्जिन (रकम) जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो । यसले विलासिताका वस्तुको आयातमा असहज भए पनि औद्योगिक क्षेत्रलाई असर नपुग्ने उद्योगीहरूको धारणा छ ।

संगठनका अध्यक्ष प्याकुरेलका अनुसार मंगलवार काठमाडौं पुगेको उद्योगीहरूको टोलीले बैंक तथा वित्तीय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको गुनासो समेत राखेको थियो । यसबारे नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराउँदै टोलीले वित्तीय क्षेत्रमा देखापरेको तरलताको अभाव यथाशक्य छिटो समाधान गरी उद्योग व्यवसाय सञ्चालनमा सहजीकरणका लागि अनुरोध गरेको हो । तरलताको अभाव भएकाले बैंक तथा वित्तीय संस्थाले केही समयदेखि औद्योगिक कच्चापदार्थ लगायत वस्तुको आयातका लागि प्रतीतपत्र (एलसी) खोल्न कठिनाइ भइरहेको विषयबारे गभर्नरलाई जानकारी गराइएको छ । उद्योगीका सुझाव सुनिसकेपछि गभर्नर अधिकारीले उत्पादनमूलक उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ लगायत वस्तुको नियमित आपूर्तिका लागि प्रतीतपत्र खोल्न कुनै पनि कठिनाइ हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

संगठनको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, उपाध्यक्षद्वय राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुशील रिजाल, सल्लाहकार सोम अधिकारीलगायतको सहभागिता थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्