कांग्रेस नुवाकोटद्वारा पार्टी कब्जा र १८ करोडको आरोपबारे सत्यतथ्य सार्वजनिक गर्न माग
नुवाकोट,कात्तिक १६ । नेपाली कांग्रेस नुवाकोटका नियमित महाधिवेशन पक्षधरले पार्टी कब्जा गर्ने प्रवृत्ति र आर्थिक चलखेलसम्बन्धी विषयमा गम्भीर आपत्ति जनाउँदै पार्टी नेतृत्वसँग सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
नियमित महाधिवेशन पक्षधर नुवाकोटका संयोजक श्रीराम श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा कांग्रेस कुनै व्यक्ति, गुट वा समूहको निजी सम्पत्ति नभएको उल्लेख गर्दै पार्टीलाई आर्थिक शक्ति र विचौलियाको प्रभावबाट कब्जा गर्ने प्रयास भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण जनाइएको छ।
विज्ञप्तिमा विशेषगरी गगन थापासँग जोडेर १८ करोड रुपैयाँ विचौलियालाई दिएर पार्टीको नेतृत्व तथा संगठन कब्जा गरिएको भन्ने आरोप सार्वजनिक रूपमा उठिरहेको भन्दै यस विषयमा सम्बन्धित नेतृत्वले सत्यतथ्य सार्वजनिक गरी स्पष्ट जवाफ दिनुपर्ने माग गरिएको छ।
कांग्रेसको नेतृत्व आर्थिक चलखेल, विचौलिया वा सीमित समूहको स्वार्थबाट नभई पार्टीको विधान, लोकतान्त्रिक पद्धति र कार्यकर्ताको वास्तविक जनमतका आधारमा स्थापित हुनुपर्ने धारणा नुवाकोट कांग्रेसले अघि सारेको छ।
प्रेस विज्ञप्तिमार्फत पार्टी कब्जा गरिएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने, १८ करोड रुपैयाँसम्बन्धी आरोपको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, पार्टीको विधान, लोकतान्त्रिक मूल्य र आन्तरिक निर्वाचन प्रक्रियाको पूर्ण सम्मान गर्नुपर्ने माग गरिएको छ।
त्यस्तै, पार्टीलाई आर्थिक चलखेल र विचौलियाको प्रभावबाट मुक्त राख्न तथा आम कार्यकर्ता र शुभेच्छुकको भावनाको सम्मान गर्न पनि आग्रह गरिएको छ।
कांग्रेस नुवाकोटले पार्टीको विचार, सिद्धान्त, विधि र विधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै पार्टीभित्रको लोकतन्त्र र कार्यकर्ताको अधिकारमाथि हुने कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने जनाएको छ।
विज्ञप्तिको अन्त्यमा पार्टीको आन्तरिक लोकतन्त्र, विधि र कार्यकर्ताको अधिकारको पक्षमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरिएको छ।


