हिमाल संरक्षण र जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन सांसदहरूको जोड



काठमाडौं,कात्तिक १६ । सांसदहरूले हिमाल संरक्षण र जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन द्विपक्षीय तथा बहुपक्षीय वार्तालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको सोमबार बसेको बैठकमा सांसदहरूले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको क्षतिको क्षतिपूर्ति, जलवायु न्याय र जलवायु वित्त सुनिश्चित गर्न अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको बताएका हुन् ।

भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्का विषयमा भएको छलफलमा सांसदहरूले प्रभावित क्षेत्रका ऐतिहासिक मन्दिरको संरक्षण तथा पर्यटन व्यवसायको पुनर्स्थापनाका लागि आवश्यक नीतिगत सुधारमा ढिलाइ गर्न नहुने धारणा राखेका छन् ।

बैठकमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले नेपाल–चीनबीच आयात–निर्यात सहजीकरणका लागि वैकल्पिक व्यापारिक नाकाको विकास तथा विपद् पूर्वसूचना प्रणालीसम्बन्धी सहकार्यलाई प्राथमिकता दिइएको जानकारी गराउनुभयो ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधिहरूले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित पर्यटकहरूको तथ्याङ्क यथार्थपरक बनाउन सम्बन्धित सबै मन्त्रालयबीच समन्वयलाई थप सुदृढ गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्