उखुको समर्थन मूल्य निर्धारण गर्न किसान र उद्योगीबीच वार्ता
काठमाडौं,कात्तिक १६ । उखुको समर्थन मूल्य निर्धारणमा ढिलाइ भएपछि उखु किसान र चिनी उद्योगीबीच मूल्य तय गर्ने विषयमा सरकारी रोहवरमा वार्ता सुरु भएको छ।
उखुको उचित मूल्य निर्धारण र किसानले समयमै भुक्तानी पाउने व्यवस्था सुनिश्चित गर्न किसान प्रतिनिधि तथा चिनी उद्योगीबीच छलफल अघि बढेको हो।
समर्थन मूल्य समयमै निर्धारण हुन नसक्दा अन्योलमा परेका उखु किसान आफ्ना मागसहित राजधानी काठमाडौं आइपुगेका छन्। किसानले उखुको उत्पादन लागत, श्रम, मलखाद, सिँचाइ तथा ढुवानी खर्चलाई आधार बनाएर न्यायोचित मूल्य निर्धारण गर्न माग गरेका छन्।
सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा जारी वार्तामा उखु किसानका प्रतिनिधि, चिनी उद्योगी तथा सम्बन्धित सरकारी अधिकारी सहभागी छन्।
छलफलमा चालु क्रसिङ सिजनका लागि उखुको खरिद मूल्य निर्धारण, किसानले पाउनुपर्ने भुक्तानी समयमै उपलब्ध गराउने व्यवस्था तथा उखु खेतीलाई दिगो बनाउने विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ।

