काठमाडौँ गोर्खाजको पहिलो जित, कर्णाली याक्स ४ विकेटले पराजित
काठमाडौं,कात्तिक १६ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा काठमाडौँले कर्णालीले दिएको १८१ रनको लक्ष्य १९ दशमलव ४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
काठमाडौँका लागि राशिद खानले सर्वाधिक ५० रन बनाए । उनले ३३ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४४ रन जोडे । उनले चार चौका र तीन छक्का प्रहार गरे । जाहन्दाद खानले अविजित २२ तथा मोहम्मद आदिल आलमले २० रनको योगदान दिए ।
बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसेन तलातले समान दुई विकेट लिए । मार्क वाट र नन्दन यादवले एक–एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो । कर्णालीका अरिफूल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।
हुसेन तलातले ३० बलमा ४० रन जोड्दा पवन सर्राफले अविजित ३० रन बनाए । गुल्शन झाले २० तथा मार्क वाटले १७ रनको योगदान दिए ।
काठमाडौँका करण केसीले दुई विकेट लिए भने शाहब आलम, जाहन्दाद खान, देव शाह र सन्तोष यादवले समान एक–एक विकेट लिए ।
काठमाडौँले पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटको हार बेहोरेको थियो । यस जितसँगै काठमाडौँले प्रतियोगितामा पहिलो सफलता हासिल गरेको छ ।
यता कर्णाली याक्सको भने प्रतियोगितामा पहिलो हार हो । कर्णालीले यसअघि जनकपुर बोल्ट्सलाई १९ रनले तथा विराटनगर किङ्ग्सलाई चार विकेटले पराजित गरेको थियो ।
कीर्तिपुर मैदानमा आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

