उपत्यकामा १५ किमीको साहसिक साइकल ट्रेल बन्यो



काठमाडौं,पुस ९ । काठमाडौं उपत्यकामै साहसिक साइकल ट्रेल निर्माण भएको छ । नेपाल पर्यटन बोर्डले विभिन्न दातृ निकायहरुको सहयोगमा १५ किलोमिटर (किमी)को किर्तिपुर–चन्द्रागिरी साहसिक साइकल ट्रेल बिहिवारदेखि सञ्चालनमा ल्याएको हो ।

बोर्डले संयुक्त राष्ट्रसघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्र्तगत किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकामा साहसिक साइकल ट्रेल निर्माण भएको हो । किर्तिपुर नगरपालिका ४ र चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ मा निर्माण गरिएको उक्त टे«ल बोसनडाँडादेखि चन्द्रागिरी केवलकारको वेस स्टेशनसम्म रहेको छ ।

उक्त साइकल ट्रेलको पूर्वमन्त्री तथा सांसद राजन कुमार केसीले बिहीवार उद्घाटन गरेका छन् । सो अवसरमा केसीले कोभिडले पर्यटन क्षेत्र तहसनहस भएको समयमा सञ्चालन भएको यस परियोजनाले पर्यटन मजदुरलाई अल्पकालीन रोजगार प्रदान गर्नुका साथै विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माणलाई थप टेवा दिएकोे बताए ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभाव न्युनिकरण गर्न र पर्यटन पुनरुत्थानका लागि बोर्डले  निरन्तर पहल गरिहको बताए ।

यो परियोजनाबाट बनेका संरचनाहरुको दीगो व्यवस्थापन र सञ्चालनका लागि स्थानीय तह अघि सक्रिय रहनुपर्नेमा उनले जोड दिए । चन्द्रागिरी नगरपािलकाका नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाले पर्यटकीय पूर्वाधार विकास तथा धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धनमा जोड दिएको बताए । सो अवसरमा किर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश मर्हजनले अहिले भइरहेका गतिविधिले पर्यटनलाई चलायमान बनाउन सहयोग पुग्ने धारणा राखे ।

यो परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर र युएनडिपीका तर्फबाट १० लाख ५० हजार गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ । पर्यटन क्षेत्रका करिब ६ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पुर्‍याउने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्