चोभार सुक्खा बन्दरगाह सञ्चालनमा ढिलाइ



काठमाडौं,पुस १४ । चोभारमा निर्माण सम्पन्न सुक्खा बन्दरगाह सञ्चालनमा सरकारले ढिलाइ गरिएको छ । काठमाडौंको चोभारस्थित २ सय २० रोपनी क्षेत्रफलमा १ अर्ब ६० करोड रुपैयाँको लगानीमा सुक्खा बन्दरगाह बनिसके पनि सञ्चालनमा आउन सकेको छैन । प्रारम्भिक रूपमा नेपाल इन्टरमोडल यातायात विकास समितिलाई सुक्खा बन्दरगाह सञ्चालनका लागि सरकारले जिम्मा दिने तयारी गरेको बताइए पनि अहिलेसम्म निर्णय भएको छैन । यस्तै सीमापारिबाट सामान चोभारसम्म कसरी ल्याउने भन्ने विषयमा पनि मोडालिटी बन्न सकेको छैन ।

सरकारले सञ्चालनका लागि जिम्मा दिएमा आफूहरू तयार रहेको कार्यकारी निर्देशक आशिष गजुरेल बताउँछन् । ‘सञ्चालन कसले कसरी गर्ने भन्नेबारे निर्णय हुनुप¥यो, जिम्मा पाएमा हामीले सञ्चालन गर्न तयार छौं,’ उनले भने ।

वाणिज्य सचिव दिनेश भट्टराईले भन्सार विभाग र अर्थ मन्त्रालयले आवश्यक कार्यविधि तयार नगर्दा ढिलाइ भएको बताउँछन् । आपूmहरूका तर्पmबाट सबै तयारी पूरा भएको उनको भनाइ छ । ‘सीमाबाट आउने समान केकसरी चोभारसम्म ल्याउने हो । त्यसबारे अर्थ मन्त्रालय, भन्सार विभागले स्पष्ट कार्यविधि तयार नगर्दा समय लागेको हो, हामीले छिटो कार्यविधि बनाउन भनिरहेका छौं,’ अभियानसँग उनले भने ।

सञ्चालन कसले गर्ने भनेर छिट्टै नै निर्णय हुने भट्टराई बताउँछन् । ‘तत्कालै सञ्चालन गर्ने हो भने इन्टरमोडलबाटै हुनेछ । समय भयो भने प्रतिस्पर्धाबाट पनि सञ्चालक छान्न सकिनेछ,’ उनले भने ।

सुक्खा बन्दरगाह छिटो शुरू हुने हो भने व्यवसायीहरूले सीधै काठमाडौंमा सामान ल्याउन सक्ने र यसले आयातको लागत घटाउन सकिनेछ । चोभरमा निर्माण भएको सुक्खा बन्दरगाहभित्र दुईओटा गेट, तीनओटा धर्मकाँटा, भन्सार, क्वारेन्टाइन र प्रशासनिक गरी तीनओटा भवन, तीनओटा ठूला गोदाम, चेकजाँच गर्ने तीनओटा खुला भवन रहनेछन् ।

त्यस्तै ५ सयओटा कन्टेनर राख्न सक्ने कन्टेनर यार्ड र ५०० ट्रक व्यवस्थापन गर्न सकिने ठाउँ छ । पार्किङ स्थलमा सीसीटिभी जडान र फायर फाइटरसमेत जडान भइसकेको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

भारत र चीनसँग सीमा जोडिएको जिल्लाहरूमा मात्रै सुक्खा बन्दरगाह भए पनि भित्री जिल्लामा भने चोभारको सुक्खा बन्दरगाह पहिलो हो । वीरगञ्ज, विराटनगर, भैरहवा, काँकडभिट्टा, तातोपानीमा सुक्खा बन्दरगाह सञ्चालनमा छन् भने रसुवा र नेपालगञ्जमा पनि निर्माणाधीन अवस्थामा रहेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्