‘आर्थिक मन्दी र ओमिक्रोन त्रासले चितवनमा आएनन् पर्यटक’



चितवन,पुस १५ । हरेक नयाँ अंग्रेजी वर्षको पूर्व सन्ध्यामा चितवनका होटल भरीभराउ भएपनि यसपटक भने पर्यटकको न्यून उपस्थिति रहेको छ । 

सौराहा तथा चितवनका अन्य पर्यटकीय गन्तव्यमा पनि पर्यटकको उपस्थिति पातलो छ । विगतका वर्षहरुमा थलिएको पर्यटनलाई सिजन शुरु भएसँगै उकासिने आशा गरेपनि पर्यटकको न्यून उपस्थितिले उत्साहमा कमी आएको पर्यटन व्यवसायी बताउँछन् । 

अहिले देखिएको बैंकिङ तरलता अभाव र ओमिक्रोन भाइरसको त्रासका कारण पर्यटक आगमन कम हुन पुगेको पर्यटन व्यवसायीको निचोड छ । क्षेत्रीय होटल संघ चितवन, सौराहाका अध्यक्ष दिपक भट्टराई गत वर्षको तुलनामा यस अंग्रेजी वर्षको पूर्व सन्ध्यामा आधाभन्दा कम पर्यटकको उपस्थिति रहेको बताउँछन् ।

‘पोहोरको जस्तै यसपटक पनि पर्यटक भरीभराउ हुने आशा गरेका थियौं उनले भने, हालसम्म ४५ प्रतिशत पनि रुम अकुपाई छैन । कति होटल त खाली जस्तै छन् ।’ अहिले पर्यटकको संख्या कम भएपनि अंग्रेजी नयाँ वर्षबाट भने पर्यटक आउनेमा आशावादी रहेको उनी बताउँछन् ।  

हुनत चितवनको पर्यटन बाह्य पर्यटक र जंगल सफारीमा आधारित पर्यटन हो । युरोप लगायत अन्य देशहरुमा ओमिक्रोन प्रभाव बढेको र अझैपनि सहज रुपमा पर्यटक नेपाल आउन नसकेकोले पर्यटकको संख्यामा कमी देखिएको हो । 

अर्कोकुरा केही महीनादेखि बैंकमा तरलताको अभाव कारण हरेक क्षेत्र सुस्त र आर्थिक गतिविधि कम भएका कारण पनि यसको असर पर्यटन क्षेत्रमा परेको हो । 

रेष्टुरेण्ट एण्ड बार एशोसियन (रेवान) सौराहाका निर्वतमान अध्यक्ष दिपेन्द्र खतिवडा हाल सौराहामा केही भारतीय र चाइनिज पर्यटक देखिएपनि आन्तरिक पर्यटकको आगमननै अत्यन्त सुस्त भएको बताउँछन् । देशभर अधिवेशनको माओल, पर्यटकहरु छरिनु, विद्यार्थीहरुको परीक्षा लगायतका कारण परिवारसँगै घुम्न आउने पर्यटक पनि कम भएको उनको भनाइ छ । ‘ओमिक्रोन त्रास बाहिरी देशमा बढेपछि नेपालमा पनि यसको प्रभाव पर्छ नै उनले भने, पछिल्लो समय सौराहामा जस्तै सेवा सुविधा भएका होटलहरु पनि प्रशस्त हुन थाले । 

सौराहामा मात्रै होइन चितवनका अन्य पर्यटकीय गन्तव्यहरुमा पनि पर्यटकहरुको चहलपहल अत्यन्त न्यून छ । अंग्रेजी नयाँ वर्ष शुरु भएपछि रुम बुकिङ हुन थाले पनि हाल भने रुम बुकिङको अवस्था दयनीय रहेको छ । चितवनको दोस्रो प्रमुख पर्यटकीय गन्तव्य मानिएको पटिहानीमा पनि पर्यटकको संख्या अत्यन्त न्यून छ । 

‘अहिले अकुपाई कति छ भनेर भन्दा पनि भन्नै नहुने अवस्था छ । कसरा रिसोर्टका जनसम्पर्क अधिकृत सागर पौडेल भन्छन्, नयाँ वर्ष शुरु भएपछि भने केही रुम बुकिङ हुँदै गएका छन । हेरौं के हुन्छ ।’ पर्यटकको अहिलेको अवस्थाका कारण आफूहरु सिजनमा समेत अन्यौल हुने अवस्था रहेको उनले बताए । 

लकडाउन र निषेधाज्ञा खुलेपछि हरेक आर्थिक गतिविधि चलायमान देखिएपनि सबै क्षेत्रमा त्यति धेरै उत्साह छैन । आर्थिक मन्दीकै सानादेखि ठूला व्यवसाय, घरजग्गा कारोबार, अटोमोबाइल क्षेत्र तथा अन्य क्षेत्रपनि सुस्तनै देखिन्छ ।  ‘पर्यटन क्षेत्र सुस्त हुनुमा मुख्य कारण दुईओटा देखिन्छ, पर्यटनविद् डाक्टर विश्व सुबेदी भन्छन्, एक तरलताको अभाव अर्को ओमिक्रोनको त्रास । अर्कोकुरा मौसमले पनि साथ दिएको छैन ।’ चितवनमा हरेक क्षेत्रमा सानादेखि स्तरीय होटलहरु र पर्यटकीय गन्तव्य संख्या बढी भएकोले पनि सौराहा लगायत अन्य प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको संख्या कम देखिएको डा. सुवेदीले बताए । 

‘अहिले होटलहरुको संख्या पनि चितवनमा तीव्र रुपमा वृद्धि हुँदै गएको छ । होटलको अनुपातमा पर्यटकको संख्या कम भयो ।’ उनले भने । कोरोना कहरकै कारण पछिल्लो समय अधिकांश पर्यटकहरु शान्त, कम भीडभाड र फरक फरक ठाउँमा घुम्न जाने बानीको विकास भएकोले पनि पर्यटकको आगमन कम देखिएको उनको भनाइ छ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्