अमेरिकाको कोलोराडोमा डढेलोबाट ३० हजार मानिस विस्थापित



एजेन्सी, पुस १८ । अमेरिकाको कोलोराडो राज्य नजिकैको वनमा लागेको भीषण डढेलो लागेपछि त्यहाँका ५ सयभन्दा बढी घरहरु जलेर खरानी भएका छन् । बिहीबार लागेको डढेलो अनियन्त्रित बन्दा कोलोराडोको डेन्भर महानगरपालिका क्षेत्रका दुईवटा शहरमा करिब १ हजारभन्दा बढी घर जलेर खरानी भएका हुन् ।

डढेलोबाट शनिबारसम्म ३ जना मानिसले ज्यान गुमाएका छन् भने अन्य केही मानिस मानिस घाइते भएको जनाइएको छ। अधिकारीहरुले शनिबार बताएअनुसार सुपेरियर र लुइसभिल्ला सहरका १ हजारभन्दा बढी घरहरु जलेर नष्ट भएका हुन् । डढेलोले दुई घण्टामा मात्र २४ सय हेक्टर क्षेत्रफल विनाश गरेको छ । विनाशकारी डढेलो निभेपछि सो क्षेत्रमा २० सेन्टिमिटरसम्म हिउँ परेको समेत शनिबार अधिकारीहरुले बताएका छन् ।

लामो समयसँगैको खडेरी र सुख्खा मौसमका कारण बिहीबार बिहानैदेखि सो क्षेत्रमा डढेलो लागेको थियो । प्रतिघण्टा १६९ किलोमिटरको वेगमा चलेको हावाले सो डढेलो तीब्ररुपमा फैलिएको थियो । डढेलोपछि सो क्षेत्रमा बसोबास गर्दै आएका करिब ३४ हजार मानिस घर छोड्न बाध्य भएका थिए । तीब्ररुपमा फैलिएको डढेलाले वल्ड टाउन र सुपेरियर क्षेत्रमा सबैभन्दा बढि क्षति पुगेको त्यहाँको महानगरपालिकाले जनाएको छ ।

हालैको डढेलो कोलोराडो इतिहासकै विनाशकारी भएको अधिकारीहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोलोराडोको सो अवस्थालाई विपत्तिजनक भएको घोषणा गरेका छन् । विज्ञहरुले जलवायु संकटका कारण सहरी क्षेत्रमा समेत डढेलो फैलिएको चेतावनी दिएका छन् । पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनका कारण कोलोराडो क्षेत्रले चरम सुख्खा र खडेरीको सामना गरिरहेको छ । जसका कारण सो क्षेत्रमा आगलागी र डढेलोका घटना बढ्दै गएका छन् । अघिल्ला वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा वनजंगलमा लाग्ने डढेलोले झनै विनाशकारी रुप लिने गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्