मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार



एजेन्सी,पुस २०। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिलालाई गोली हानिएको छ । युपीको सुल्तानपुरमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने महिला रीता यादवमाथि सोमबार अज्ञात समूहले गोली हानेको हो ।

भारतीय सञ्चामाध्यमकाअनुसार रिताको खुट्टामा गोली लागेको छ । घाइते अवस्थामा उनलाई पहिले सिएचसी लम्बुवामा भर्ना गरिएको थियो र पछि थप उपचारको लागि जिल्ला अस्पताल सुल्तानपुर रिफर गरिएको छ ।

नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेसवेको उद्घाटन गर्दै कुरेभार जिल्लाको अरवलकिरीमा सभा गरिरहँदा रीता यादवले उनलाई कालो झण्डा देखाएकी थिइन् । प्रहरीले उनलाई पक्राउ गरी जेल पठाएको थियो र दुई दिनपछि धरौटीमा रिहा भएकी थिइन् ।

घटनापछि उनी एक महिनासम्म समाजवादी पार्टीमा बसेकी थिइन्, तर १७ डिसेम्बरमा लखनऊमा कांग्रेसमा सामेल भइन् । अहिले प्रहरीले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनु र गोली चलेको घटनाबीच कुनै सम्बन्ध छ कि छैन भन्नेबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्