मल किन्न भारतसँग सम्झौता गरिने, उखुको मूल्य निर्धारण



काठमाडौं,पुस २२ । भारतबाट जीटुजीमार्फत मल खरीद गरिने भएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले मल खरीदका लागि सम्झौता गर्ने निर्णय गरेको हो । मल खरीदका लागि भारत सरकारसँग पाँच वर्षको सम्झौता गर्नेगरी निर्णय भएको छ । पहिलो वर्ष डेढ लाख मेट्रिकटन मल खरीद हुनेछ भने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जानेगरी सम्झौता हुन लागेको कृषिमन्त्री महीन्द्रराय यादवले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला यसबारे सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । अन्तरराष्ट्रिय बजारमा मलको अत्यधिक मूल्यवृद्धि भएकाले त्यसको असर नेपालमा पनि परेको छ । मूल्यवृद्धिका कारण ठेकेदार कम्पनीहरूले मल ल्याउन नसकेकोले नेपालमा मलको हाहाकार हुने गरेको छ ।

यस्तै सरकारले उखुको मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री यादवका अनुसार मन्त्रालयले नै उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारण गरेर उद्योग मन्त्रालयमा पेश गरेको थियो । उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्