घर निर्माणमा फर्निचरको विकल्प आल्मुनियम



काठमाडौं,पुस २३ । प्रविधि र सञ्चारको विकासले मानिसलाई सजिलो बनाएको छ । त्यति मात्र होइन, यसले हरेक क्षेत्रमा विकल्प खोजीको अवसर पनि दिँदै आएको छ । कुनै एउटाको विकल्पमा अर्को वस्तु प्रयोग गर्न पाउनु मानिसका लागि सहज बन्न पुगेको छ ।

नेपालको सन्दर्भमा घर बनाउने भन्नासाथ ढुंगा, माटो, काठ र खरबाहेक अर्को विकल्प थिएन । बाहिरी दुनियाँमा भइरहेका गतिविधिबारे कुनै जानकारी थिएन । कुनै पनि वस्तु समयक्रममा अनुपयुक्त वा विलोप भएर जान्छ । वस्तु नासवान हुने कुरा प्रकृतिको नियमै हो । त्यसैले मानिसले समयक्रममा सजिलो, वस्तुको उपलब्धता, प्रविधि र ज्ञानको विकासले नयाँ–नयाँ वस्तुको खोजी गर्न पुग्छ । त्यसैको प्रतिफल काठ र ढुंगा, माटोका कच्ची घरको विकल्प पक्की (सिमेन्टेड) भवन बने । त्यसको पनि विभिन्न विकल्प बन्ने क्रममा आल्मुनियम, प्रियाब, जिप्सम बोर्ड, स्टिल, फलाम आदि प्रयोग गरी घर बन्ने गरेका छन् ।

अहिलेको आधुनिक भवनको एउटा विकल्पको रूपमा आल्मुनियम पनि एक हो । विशेषगरी आल्मुनियमलाई तला थप्ने कार्यमा पार्टिसन र झ्याल, ढोका आदि बनाउन प्रयोग गरिन्छ । विस्तारै आल्मुनियमलाई फर्निचरको विकल्पको रूपमा पनि प्रयोग गर्न थालिएको छ ।

आल्मुनियम सेतो, हल्का वजन, नरम, बलियो, लचिलो धातु हो । यसबाट क्यान, भान्साका विभिन्न भाँडावर्तन, झ्याल–ढोकाका फ्रेम, हवाई जहाजका पार्टपुर्जा आदि बनाउन प्रयोग गरिन्छ । पुनः प्रयोग गर्न सकिने, खिया नलाग्ने, वजनमा हलुका, नरम, टिकाउ, बलियो, रंगरोगन गर्नु नपर्ने, हावापानी प्रतिरोधी आदि यसका प्रमुख विशेषता हुन् । आल्मुनियम प्रयोग स्ट्रक्चरल ग्लेजिङ (ग्लासको संरचना निर्माण) गर्ने कार्यमा हुन्छ । इलेक्ट्रोनिक एनोडाइजिङ (इलेक्ट्रोनिक प्रविधिबाट रंग गरिने) गरिने भएकाले रंग खुइलिने हुँदैन र खिया लाग्न पाउँदैन । यसको अर्को प्रमुख विशेषता हो, मर्मत गर्न सकिने । त्यसैले मर्मत गर्न कम लागत लाग्ने र टेक्निसियन सजिलै उपलब्ध हुने यसको असल गुण हो ।

घरको रूपमा आल्मुनियम
आल्मुनियमलाई प्रियाबको जस्तै पूर्ण घर बनाउन नसकिने ए वन आल्मुनियम तथा याब्रिकेसनका प्रोप्राइटर होमप्रसाद डाँगी बताउँछन् । पूर्ण आल्मुनियमको भवन बनाउन धेरै महँगो पर्ने भएकाले सम्भव नभएको हो । तर,  यसको घर बनाउनमा भूमिका बढ्दै गइरहेको छ । अहिले आल्मुनियम कम्पोजिट प्यानल (एसीपी) र भवनका सुन्दर डिजाइनका कर्टेन वाल निर्माण हुन थालेका छन् । त्यसैगरी यसबाट आकर्षक रुफिङ सिट पनि बन्न थालेका छन् । यसबाट आकर्षक छाना बनाउन सकिन्छ । यसैको प्रयोग गरेर सुन्दर र आकर्षक घर बनाउन सकिन्छ ।

पक्की वा अन्य कुनै पनि किसिमका घरका भित्री भागमा रुम पार्टिसन गर्न र झ्याल–ढोका निर्माण गर्न अति उपयोगी हुन्छ ।

फर्निचरको विकल्पमा आल्मुनियम
अहिले हरेक क्षेत्रमा आल्मुनियमको प्रयोग बढ्दै गएको छ । काठका फर्निचर महँगो र अपर्याप्त हुनुका कारण पनि आल्मुनियमको प्रयोगमा वृद्धि भएको हो । काठका फर्निचरभन्दा बलियो, आकर्षक, हलुका, मर्मत गर्न सजिलोका कारण पनि फर्निचरको रूपमा प्रयोग गर्न थालिएको हो । विशेषगरी आल्मुनियमबाट फोल्ड गर्न मिल्ने टेबुल, कुर्सी आदि बनाउन उपयुक्त मानिन्छ ।

आल्मुनियम बाहिर घाम, पानी, हावा प्रतिरोधी र रंग नखुइलिने स्वभावको हुन्छ । त्यसैकारण बाहिर बगैंचा, पार्क आदि क्षेत्रमा यसको टेबुल बनाएर राख्न उपयुक्त हुन्छ ।
आल्मुनियमको प्रमुख विशेषता भनेकै वजनमा हलुका, रंग नखुइलिने, क्र्याक वा नचर्किने, मर्मत गर्न सजिलो, सुन्दर, बाहिरी वातावरणले छिटो नबिग्रने हो । नरम हुने भएकाले जस्तो आकारमा पनि बनाउन सकिने भएकाले यसको प्रयोग सबै क्षत्रमा गर्न सकिएको हो ।

आल्मुनियमका अगाडि अन्य वस्तु फिक्का लाग्ने गर्छन । इँटा, मोर्टार, सिमेन्ट पुराना भइसके । अहिले यसकै प्रयोग गरेर आकर्षक घर, ग्यारेज, सिनेमा हल, पार्टी प्यालेस, सुपरमार्केट आदि बन्ने गरेका छन् ।

नेपालजस्तो भूकम्पको उच्च जोखिम रहेको देशका लागि आल्मुनियमजस्तो वजनमा हलुका सामग्री प्रयोग गरेर घर बनाउनु उपयुक्त मानिन्छ । जति हलुका त्यति जोखिमको सम्भावना कम रहन्छ । यसका लागि पक्की भवनमा जस्तो फाउन्डेसन निर्माणमा धेरै खर्च गर्नुपर्दैन । धेरै तले भवन नबनाएर साधारण एकतले भवनका लागि थोरै खर्चमा बनाउन सकिन्छ । आम्दानीअनुसारको भवन निर्माण यसको प्रमुख विशेषता हो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्