बाघको छाला सहित ४ जना पक्राउ
दाङ,पुस २४ । बाघको छाला सहित ४ जना पक्राउ परेका छन् । लमही नगरपालिका ३ टिक्लिगढबाट बाघको १ थान छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने घोराही उपमहानगरपालिका १३ घर भएकी ४२ वर्षीया झरना थापा भन्ने धनसरी रेश्मी थापा, उनका श्रीमान् ४५ वर्षीय शंकर भन्ने खेमराज गिरी, लमही नगरपालिका १ नर्ति बस्ने ६३ वर्षीय गीरबहादुर बिक र सोही नगरपालिका २ बरुवा गाउँ बस्ने २८ वर्षीय आशाकुमार चौधरी रहेको लमही प्रहरीले जनाएको छ ।
धनसरीको कोठामा बाघ छालाको किनबेच हुँदैछ भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय लुम्बिनी र वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरी टोलीको टोलीले उनको कोठा तलासी गर्नेक्रममा छाला सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरको बारेमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

