बाढी प्रभावित किसानलाई १ हजार ५०० मेट्रिक टन मल वितरण गरिने



नुवाकोट,कात्तिक २० । रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित किसानलाई लक्षित गरी १ हजार ५०० मेट्रिक टन रासायनिक मल वितरण गरिने भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विकास तथा खाद्य सुरक्षा महाशाखाको कृषि सामग्री व्यवस्थापन शाखाले बाढी प्रभावित क्षेत्रमा मल वितरणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको हो।

मन्त्रालयले २०८३ कात्तिक २० गते जारी गरेको पत्रअनुसार कृषि सामग्री कम्पनी लिमिटेडको वीरगञ्जस्थित प्रादेशिक कार्यालयमा मौज्दात रहेको ५०० मेट्रिक टन डीएपी र १ हजार मेट्रिक टन युरिया मल बाढी प्रभावित क्षेत्रका किसानलाई वितरण गर्ने व्यवस्था मिलाउन भनिएको छ।

गत भदौ १० गते रसुवास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा ठूलो जनधन तथा भौतिक क्षति भएको थियो। बाढीले कृषि क्षेत्रसमेत प्रभावित बनाएपछि किसानलाई राहतस्वरूप मल वितरण गर्न लागिएको मन्त्रालयको पत्रमा उल्लेख छ।

बाढीबाट प्रभावित किसानलाई लक्षित गरी मल वितरण गरिने व्यवस्थाले कृषि उत्पादनमा परेको क्षति न्यूनीकरण तथा खेतीपातीलाई पुनः सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्