पञ्चकन्यामा समुदायस्तरीय रोग निगरानीसम्बन्धी अभिमुखीकरण



नुवाकोट,कात्तिक २० । समुदायस्तरमा रोग तथा सम्भावित जनस्वास्थ्य जोखिमको शीघ्र पहिचान, समयमै सूचना प्रवाह र प्रभावकारी रिपोर्टिङ प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले पञ्चकन्या गाउँपालिकामा समुदायमा आधारित रोग निगरानीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।

गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष विमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई तथा वडा नं. २ का अध्यक्ष रामशरण श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, पीएचआरडी नेपालका प्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख तथा सम्बन्धित स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

स्वास्थ्यकर्मीहरूका लागि कार्तिक १९ र २० गते दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममार्फत स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा समुदायका सरोकारवालाहरूको क्षमता अभिवृद्धि गरिने गाउँपालिकाले जनाएको छ।

अभिमुखीकरणमा रोगका लक्षण, असामान्य स्वास्थ्य घटना तथा सम्भावित महामारीजन्य जोखिमको समयमै पहिचान, सूचना संकलन, रिपोर्टिङ र आवश्यक समन्वयका विषयमा जानकारी तथा सीप प्रदान गरिने लक्ष्य राखिएको छ।

महामारी कोष, युनिसेफ नेपाल तथा पीएचआरडी नेपालको सहकार्यमा सञ्चालित यस कार्यक्रमले समुदायस्तरमै रोग निगरानी प्रणालीलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै, सम्भावित महामारी तथा जनस्वास्थ्य संकटको पूर्वतयारी, शीघ्र प्रतिकार्य र सुरक्षित समुदाय निर्माणमा कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्