ब्रेक फेल भएर बस दुर्घटना, ३२ जना घाइते



अर्घाखाँची,कात्तिक २० । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ खाँचीखोलास्थित सन्धिखर्क–गोरुसिंगे सडकखण्डमा ब्रेक फेल भएको बसले मोटरसाइकललाई ठक्कर दिँदै सडकको भित्तामा ठोक्किँदा ३२ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो १ः२० बजे सुपादेउरालीबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३७२ नम्बरको बसको ब्रेक फेल भएपछि सोही दिशातर्फ जाँदै गरेको लु ९१ प २३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसपछि बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक र मोटरसाइकल चालकसहित ३२ जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि ठाडा स्वास्थ्य चौकी पठाइएको थियो । त्यहाँबाट ११ जना घाइतेलाई थप उपचारका लागि भैरहवा अस्पताल पठाइएको छ भने अन्य घाइतेहरूको ठाडा स्वास्थ्य चौकीमै उपचार भइरहेको छ ।

घाइतेमध्ये पश्चिम नवलपरासीको सुनवल नगरपालिका क्षेत्रका अधिकांश यात्रु रहेका छन् । दुर्घटनामा ९० वर्षीया वृद्धा, ८७ वर्षीय वृद्ध, ७ वर्षीय बालक तथा १८ महिनाका शिशुसमेत घाइते भएका छन् ।

मोटरसाइकल चालक अर्घाखाँचीको शितगंगा नगरपालिका–१ सुवर्णखालका २१ वर्षीय सुशील सिजापती र मोटरसाइकलमा पछाडि सवार सन्धिखर्क नगरपालिका–७ खाँची गौचरका १२ वर्षीय मनिष गुरुङसमेत घाइते भएका छन् ।

दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्