भारतमा एकैदिन थपिए १ लाख ८० हजार कोरोना संक्रमित, १४६ जनाको मृत्यु



एजेन्सी,पुस २७ । भारतमा एकैदिन करीब एक लाख ८० हजार  जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार कोभिड-१९ का एक लाख ७९ हजार ७२३ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

सोमवार थपिएका संक्रमितसँगै हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ । त्यस्तै, दैनिक संक्रमण दर (पोजिटिभिटी रेट) १३ दशमलव २९ प्रतिशत रहेको भारतीय समाचार माध्यमले जानकारी दिएका छन् ।

भारतमा कोभिड १९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित समेत बढिरहेका छन् । भारतमा हालसम्म ४ हजार ३३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ । ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै छन् ।

केन्द्रीय मन्त्रालयका अनुसार महाराष्ट्रमा सोमवारसम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ हजार २१६ पुगेको छ । दोस्रो स्थानमा रहेको राजस्थानमा ओमिक्रोनका संक्रमितको संख्या ५२९ पुगेको छ । त्यस्तै, हालसम्म दिल्लीमा ५१३ र कर्नाटकमा ४४१ जना यो भेरियन्टबाट संक्रमित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्