आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति



काठमाडौं,पुस २८ । खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुंगा, मार्बल, काउलिङ, बालुवा, तामालगायत खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो । विभागका अनुसार धादिङको तान्द्राङगढी र जुरेथुममा चुनढुंगा उत्खननका लागि अनुमति प्रदान गरिएको छ ।

तान्द्राङगढीमा सर्वोत्तम सिमेन्ट र जुरेथुमममा शक्ति सिमेन्ट उद्योगलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागका प्रवक्ता जयराज घिमिरेले जानकारी दिए । यसैगरी, भीमफेदीको मार्बल उत्खननका लागि अरिटेन्ट मिनलर प्रालि, गोरखाको गण्डकी गाउँपालिकाको बालुवा उत्खननका लागि गोरखा रिसोर्सेस प्रालि, सोही गाउँपालिकाको थप दुई स्थानमा बालुवा उत्खननका लागि महर्जन खानी उद्योग प्रालिलाई अनुमति दिइएको उनले बताए ।

यस्तै, मकवानपुरस्थित दामनको काउलिङ र बागलुङ ओखरबोटको तामा अध्ययनका लागि क्रमशः सिमभञ्याङ प्राइम रिसोर्सेज प्रालि र डोंगी मिनरल प्रालि काठमाडौंलाई अनुमति प्रदान गरिएको हो । कुल १३ स्थानको खानी उत्खनन तथा अनुमतिका लागि बोलपत्र आह्वान गरेको विभागले चारओटा स्थानमा निवेदन नपरेको र एक स्थानको लागि आवेदन रद्द भएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए । विभागले आठ स्थानको खनिज उत्खनन तथा अनुमति प्रदान गरेबापत ३७ करोड राजस्वसमेत संकलन गरेको छ । यस्तै, विभागले देशका विभिन्न क्षेत्रको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययनको काम समेत गरिरहेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्