वर्षापीडित किसानलाई व्यापारीबाट पनि सास्ती



काठमाडौं,पुस २९ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म हावाहुरीसहितको देशभर परेकोे वर्षाले पीडित किसान यतिखेर गल्ला व्यापारी (धान किन्ने व्यापारी)बाट पनि सास्ती खेपिरहेका छन् । गल्ला व्यापारीले वर्षाले भिजेको धानको गुणस्तर कम भएको भन्दै मनोमानि रूपमा धानको मूल्य निर्धारण गर्ने गरेकाले किसानले सास्ती खेप्नु परेको हो ।

यतिबेला देशका अधिकांश जिल्लाका धान किसान आफूले मेहनतले फलाएको धान बेच्न घण्टौंसम्म गल्ला व्यापारीकोमा लाइनमा बसिरहेका भेटिन्छन् । लामो लाइन पार गरेर धान बेच्नै लाग्दा वर्षाले भिजेर धानको गुणस्तर घटेको भन्दै व्यापारीले किसानसँग धानको मोलमोलाई गर्छन् र सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा करीब आधाकम मूल्यमा किसानसँग धान किन्छन् ।

सरकारले यस वर्ष मोटाधानको प्रतिक्वीन्टल २ हजार ७ सय ५२ र मध्यम धानको २ हजार ९ सय २ रुपैयाँ मूल्य निर्धारण गरेको भए पनि गल्ला व्यापारीहरूले किसानसँग प्रतिक्वीन्टल १ हजार ६ सयदेखि १ हजार ७ सय रुपैयाँसम्ममा धान किनिरहेको बर्दियाको राजापुर धान सुपरजोनका संयोजक अग्नि अर्यालले जानकारी दिए ।

उनका अनुसार बर्दियाका अधिकांश किसानले यसपालि सबै किसिमको धानको बढीमा प्रतिक्वीन्टल १ हजार ७ सय ५० रुपैयाँभन्दा धेरै मूल्य पाउन सकेका छैनन् । ‘व्यापारी कहाँ बेच्न जाँदा मनपरी मूल्य तोक्छन्, खाद्य कम्पनीले पनि फ्रेस धान खोज्छ । अब किसानले के गरेर ऋण तिर्ने कसरी घरखर्च कसरी चलाउने ? यसपालि किसानको निकै बिचल्ली भयो,’ उनले आर्थिक अभियान दैनिकसँग भने ।

बर्दियाकै किसानको जस्तै अवस्था छ कैलाली, बाँके, रूपन्देही, कपिलवस्तु, बारा, पर्सा, रौतहट र सर्लाहीलगायत वर्षाले धेरै प्रभावित जिल्लाका किसानहरूको पनि । कपिलवस्तुका अगुवा किसान अर्जुन तिवारीले पनि बजारमा धान विक्री गर्दा सरकारले तोकेको समर्थन मूल्यभन्दा आधाकम मूल्यमा विक्री गर्नुपरेको सुनाए । व्यापारीले केका आधारमा गुणस्तर थाहा पाएर आफूखुशी मूल्य निर्धारण गर्छन् आफूलाई पत्तो नभएको उनले बताए । ‘न त उनीहरूसँग गुणस्तर नाप्ने कुनै प्रविधि छ न त त्यस विषयमा कुनै ज्ञान छ । धान देख्नेबित्तिकै धान राम्रो छैन भन्दै व्यापारीले धानको मोलमोलाई गर्न थाल्छन्,’ उनले भने ।

किसानलाई व्यापारीहरूबाट यतिसम्मको सास्ती भइरहँदा पनि किसानसँग प्रत्यक्ष सरोकार राख्ने राष्ट्रिय किसान आयोग भने यस विषयमा अनभिज्ञ छ । राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगालले जिल्लाबाट आफूलाई यस विषयमा हालसम्म कुनै खबर नआएको र यदि खबर आएमा तत्काल केही पहल चाल्ने बताएका छन् ।

एकातिर आफ्ना सरोकारका विषयमा आवाज उठाइदिने संघसंस्था चुप लागेर बस्दा र अर्कातिर सरकारले पीडित किसानलाई दिने भनेको क्षतिपुर्तिको समेत हालसम्म कुनै टुङ्गो नलाग्दा किसानले झनै समस्या भोग्नुपरेको अवस्था छ । बेमौसमी वर्षाका कारण मुलुकभर १ लाख ११ हजार ६ सय ९ हेक्टर जमीनमा करीब ११ अर्ब ८७ करोड ५१ लाख बराबरको ४ लाख २४ हजार १ सय १३ टन धानबालीमा क्षति पुगेको तथ्यांक छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्