नुवाकोटको शिवपुरीमा गोरु जुधाउने मेला स्थगित



नुवाकोट, पुस २९ । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सेरा बगरमा गोरु जुधाउने मेला स्थगित भएको छ। गत वर्ष विविध कार्यक्रमसहित मनाइएको गोरु जुधाउने मेला यस वर्ष भने कोरोनाका कारण स्थगित भएको सेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले बताए ।

गतवर्ष जिल्लाका सेराबगरसहित विभिन्न स्थानमा ३१ हल गोरु जुधाइएको थियोे। जिल्ला प्रशासन कार्यालय नुवाकोटले कोरोना संक्रमण बढ्दै गएकाले २५ जना भन्दा बढी भेला नहुनु भन्ने निर्देशनले मेला तथा उत्सव रोक्न बाध्य हुनुपरेको अध्यक्ष आचार्यले बताए ।

गतवर्ष जिल्लाको गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइएको थियोे । तारुकाका विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा एकै स्थानमा गोरु जुधाउन थालिएको हो ।

यस्तै विदुर नगरपालिका–१० बेत्रावतीमा पनि विगतमा गोरु जुधाउने मेला सञ्चालन हुँदै आएको थियोे । यस्तै पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा गतवर्ष ६ हल गोरु जुधाइएको थियोे । यद्यपि सेराबगर बाहेक अन्यत्र स्थानमा गोरु जुधाउने मेला स्थगितबारे सूचना जारी नभएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्