सुशासनका आधार सार्वजनिक स्रोतको सदुपयोग र भ्रष्टाचारप्रति शून्य सहनशीलता : राष्ट्रपति पौडेल
काठमाडौं,कात्तिक १८ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका प्रमुख आधार भएको बताउनुभएको छ ।
दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले जनताले गरेको त्याग र बलिदानको उद्देश्य सुशासन कायम गर्नु रहेको उल्लेख गर्नुभयो । उहाँले जनताले राखेको अपेक्षा पूरा गर्न तीनै तहका सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीले सार्वजनिक पद र जिम्मेवारीलाई व्यक्तिगत सुविधा वा अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिनुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।
उहाँले प्रशासकीय भवन भौतिक संरचना मात्र नभई जनताको सेवा प्राप्त गर्ने विश्वासको केन्द्र, लोकतान्त्रिक शासन व्यवस्थाको स्थानीय आधारस्तम्भ र नागरिकका आकाङ्क्षा सम्बोधन गर्ने सार्वजनिक संस्थाको प्रतीक भएको बताउनुभयो ।
नवनिर्मित भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बन्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले आधुनिक भवनसँगै प्रशासनिक कार्यशैली पनि प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी हुन आवश्यक रहेको बताउनुभयो ।
सूचना प्रविधिको अधिकतम प्रयोग, अभिलेख व्यवस्थापन, डिजिटल सेवा तथा गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी बनाउनु आजको आवश्यकता भएको उहाँले उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले दक्षिणकालीलाई धार्मिक पर्यटनसँगै प्रकृति, संस्कृति र स्थानीय उत्पादनमा आधारित आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न प्रशस्त सम्भावना रहेको बताउँदै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

