बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते



बझाङ,कात्तिक १८ । बझाङको केदारस्युँ गाउँपालिका–७ भानचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

बुधबार बिहान ९ः१० बजे भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरकी अन्दाजी २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी र २२ वर्षीया रेखा धामी तथा दुर्गाथली गाउँपालिका–६ का ४२ वर्षीया शारदा धामी जाग्री र ४२ वर्षीय रामकुमार धामी घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ। दुर्घटनापछि जिपमा सवार यात्रुहरूको विवरण संकलन गर्ने कार्य भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्