महीना दिनमै भित्रियो १ हजार ७ सय १९ टन कन्दमूल



काठमाडौं,पुस ३० । माघेसंक्रान्तिलाई लक्षित गर्दै कालीमाटी फलफूल तथा तरकारी बजारमा महीना दिनमै १ हजार ७ सय १९ टन कन्दमूल भित्रिएको पाइएको छ । तरुल, सखरखण्ड र पिँडालु गरी पुस महीनाभित्र मात्र माघेसंक्रान्तिलाई लक्षित गर्दै उक्त परिमाणमा कन्दमूल भित्रिएको हो ।

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुस महीनामा मात्र १ सय ९७ टन सखरखण्ड, २ सय ९३ टन पिँडालु, र १ हजार २ सय २९ टन तरुल गरी कुल १ हजार ७ सय १९ टन कन्दमूल भित्रिएको हो । यो परिमाण अघिल्लो वर्षको पुस महीनाको तुलनामा १ सय ३८ टनले बढी हो ।

यस वर्षको वैशाखदेखि हालसम्मको हिसाब गर्ने हो भने अहिलेसम्म कुल २ हजार ६ सय ७९ टन कन्दमूल कालिमाटीमा भित्रिएको देखिएको छ । २०७७ मा वर्षभरिमा २ हजार ८ सय २४ टन, २०७६ मा वर्षभरिमा २ हजार ८ सय २१ टन, २०७५ मा वर्षभरिमा १ हजार ९ सय टन र २०७४ मा १ हजार २ सय ८१ टन कन्दमूल कालीमाटीमा भित्रिएको समितिको तथ्यांक छ ।

समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार अघिल्ला वर्षहरूमा व्यापारीहरूले कन्दमूल भित्र्याउँदा सीधै कालीमाटीमा नै ल्याउँथे र त्यसपछि काठमाडौंका अन्य स्थानीय बजारहरूमा पठाउने गर्दथे । यसले गर्दा अघिल्लो वर्ष धेरै आयात भएको देखिन्छ । यस वर्ष व्यापारीहरूले स्थानीय बजारमा सोझै तरुल पठाएकाले कालीमाटीमा भित्रिएको परिमाण कम देखिन गएको उनले जानकारी दिए ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूचिअनुसार यस वर्ष तरुलको औसत थोक मूल्य प्रतिकिलो ७५ रुपैयाँ, सखरखण्डको औसत थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ र पिँडालुको औसत थोक मूल्य प्रतिकिलो ४५ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष र यस वर्षको मूल्यको तुलना गर्ने हो भने तरुलको थोक मूल्यमा कुनै उतारचढाव भएको छैन । सखरखण्डको मूल्य १० रुपैयाँले बढेको छ भने पिँडालुको मूल्य १० रुपैयाँ घटेको पाइएको छ ।

कालीमाटीमा बारा, भक्तपुर, चितवन, दाङ, धादिङ, गोरखा, कञ्चनपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, पर्वत, रौतहट, सप्तरी, सिराहा, सुनसरी र तनहुँलगायत नेपालको करीब २६ जिल्ला र भारतीय बजारबाट पनि कन्दमूल भित्रिने गरेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्