भेटेनरी अस्पताल गुल्मीमा झण्डै ९ करोडका कार्यक्रम सार्वजनिक



गुल्मी,पुस ३० । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । जिल्लामा अघिल्लो हप्ता मात्रै स्थापना भएको कार्यालयले यस आर्थिक वर्ष २०७८/०७९ सालका लागि गरिने कार्यक्रमहरु सार्वजनिक गरेको हो।

कार्यालयले चालु आर्थिक वर्षमा बिभिन्न शिर्षकमा ८ करोड ९२ लाख ९१ हजार बराबरको कार्यक्रम गर्ने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा स्थानीय तहका जनप्रतिनिधी, कार्यालय प्रमुख लगायतको सहभागितामा कार्यालयका डा.भरत काफ्ले वार्षिक कार्यक्रम सार्वजनिक गरेका हुन् ।भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीले यस आर्थिक वर्षमा कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षाका लागि १ करोड ४ हजार, स्मार्ट गाउँ कार्यक्रमका लागि १ करोड ७६ हजार खर्च गरिने भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका डा. भरत काफ्लेले बताए । मत्स्य विकास तथा प्रवर्धन कार्यक्रमका लागि ३० लाख, अभियानमुखि (मिसन) कृषि तथा पशुपन्छी विकास कार्यक्रमका लागि २९ लाख, कृषि तथा पशुपन्छी श्रोत तथा प्रबिधि सेवा टेवा विस्तार कार्यक्रममा १ करोड ९६लाख रकम रहेको छ।

त्यस्तै पशुपन्छी विकास तथा पशु स्वास्थ्य नियमन कार्यक्रममा ८२ लाख, पशु सेवा (संघ ससर्त) ११ लाख, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (संघ शर्सत अनुदान)कार्यक्रममा ५१ लाख खर्च गरिने डा. काफ्लेले बताए । सार्वजनिक गरिएका कार्यक्रमहरु आबेदन मागका लागि जिल्ला स्थित स्थानीय तहहरुसँग सूचना जारी गरिने भएको छ । जिल्लामा ४ किसिमका पशुपन्छी तथा माछा जन्य उद्योगहरु रहेको पाइएको छ । जस अनुसार व्यावसायिक गाईभैँसी फार्म ३८ वटा, व्यावसायिक बाख्रा फार्म १ सय ८ वटा, व्यावासयिक भेँडा फार्म १३ वटा र व्यावसायिक बंगुर फार्म १२ वटा रहेका छन् ।

वार्षिक कार्यक्रममा सहभागिले कार्यक्रम प्रभावकारिताको लागि जिज्ञासा समेत रोखका थिए । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीमा कार्यक्रमहरु आएपनि आबश्यक कर्मचारीको अभाव रहेको छ । जसले गर्दा सार्वजनिक गरिएका कार्यक्रमहरु प्रभावकारीताका साथ सम्पन्न गर्न चुनौती समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्