प्रहरी महानिरीक्षक कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा, डा. केसी नयाँ प्रहरी प्रमुख
काठमाडौं,कात्तिक १८ । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्री बालेन्द्र शाहको सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गरेको छ । रिक्त हुने प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णयसमेत सरकारले गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह तथा सुझाव प्रदान गर्न प्रहरी महानिरीक्षक स्तरको विशेष सुरक्षा पद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिर्जना गर्ने निर्णय गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो ।
वर्तमान परिस्थितिमा देशको शान्ति सुरक्षाको व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यले महानिरीक्षक कार्कीको जिम्मेवारी हेरफेर गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारका रूपमा ल्याइएको उहाँले स्पष्ट पार्नुभयो ।
कार्कीको जिम्मेवारी परिवर्तनलाई कारबाही वा सरुवा–बढुवाका रूपमा बुझ्न नहुने पनि प्रवक्ता पोखरेलले बताउनुभयो ।

