टोखाका बिरामीलाई निशुल्क रगत



काठमाडौं,पुस ३० । टोखा नगरपालिकाका बिरामीले निशुल्क रगत पाउने भएका छन् । टोखा नगरपालिकाले रेडक्रस तथा बिभिन्न संघ संस्थासँगको समन्वयमा आफ्ना सेवा क्षेत्रका नागरिकको उपचारका लागि लाग्ने रगत निशुल्क उपलब्ध गराउन लागेको हो ।

रेडक्रस रक्त सञ्चार सेवाले प्रति पिन्ट रगतको लागि लाग्ने थैला , परिक्षण र सेवा शुल्क गरि ८ सय १० रुपैयाँ शुल्क लिँदै आएको छ । टोखाका विरामीलाई परिचयको आधारमा निशुल्क रगत प्रदान गरिने र पछि सो रकम बराबरको बिल अनुसार भूक्तानी टोखा नगरले गर्ने नगरका मेयर प्रकाश अधिकारीले बताए । रगत अभावमा नागरिकहरुले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न निति तथा कार्यक्रम अनुरुप बजेट व्यवस्थापन गरिने मेयर अधिकारीले बताए ।

नगरले केहि समय अगाडिमात्र ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन गरेको थियो । ५० वर्ष माथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी ‘मेयर दीर्घायु’ कार्यक्रम मार्फत हरेक हप्तामा ९० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्