सुक्खा बन्दरगाह सञ्चालनमा ढिलाइ



काठमाडौं, माघ १ । उपत्यकाको चोभारमा निर्माण सम्पन्न भइसकेको सुक्खा बन्दरगाह सञ्चालनमा भने अझै आउन सकेको छैन । सुक्खा बन्दरगाह निर्माण पाँच महिनाअघि नै भइसके पनि सञ्चालनमा आउन नसकेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुक्खा बन्दरगाह निर्माण सम्पन्नसँगै मन्त्रालयको तर्फबाट गरिनुपर्ने सबै काम सम्पन्न भएको जनाउँदै सञ्चालन हुन नसक्नुको दोष अर्थ मन्त्रालयलाई लगाएको छ ।

वाणिज्यले बन्दरगाह सञ्चालनका लागि आवश्यक सुरक्षा, क्वारेन्टिन, भन्सार क्षेत्र घोषणा तथा दरबन्दी कार्यविधि निर्माणका लागि अर्थ मन्त्रालयलाई आग्रह गरिएको जनाएको छ । मन्त्रालयले तत्कालका लागि मन्त्रालय मातहतको इन्टरमोडल यातायात विकास समितिमार्फत बन्दरगाह सञ्चालन गर्ने तयारी अघि बढाएको समेत पाइएको छ ।

अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले कर्मचारी दरबन्दी सिर्जना, कार्यविधि निर्माण तथा भन्सार क्षेत्र घोषणाका लागि काम भइरहेको जनाएको छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत २ सय २८ रोपनी जग्गामा बन्दरगाह निर्माणको काम भएको हो । विश्व बैंकको १ अर्ब ६७ करोड लागतको ऋण सहयोगमा आयोजना निर्माण गरिएको छ ।

आयोजना सम्पन्न भएसँगै काठमाडौं केन्द्रित व्यापारीहरूले आफ्नो सामान सोझै चोभार स्थित काठमाडौं बन्दरगाहमा ल्याएर व्यापार व्यवसाय गर्न पाउने भन्दै खुसी व्यक्त गर्दै आएका छन् । तर, सञ्चालनमा भने अझै अन्योलता देखिएको छ ।

सुक्खा बन्दरगाह सञ्चालनमा आएसँगै निर्यातजन्य सामग्री अन्य मुलुकमा पठाउन पनि यहीँबाट काम गर्न सकिने जनाइएको छ । बन्दरगाहमा एउटा मुख्य प्रशासनिक भवनको साथै अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइनलगायतका कार्यालय राखिनेछ । समितिका अनुसार आयात र निर्यातका लागि छुट्टाछुट्टै टर्मिनलहरू निर्माण भएका छन् । बन्दरगाहमा ६ सय कन्टेनर अटाउने क्षमता रहेको जनाइएको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्