निमित्तको भरमा खुला विश्वविद्यालय



काठमाडौं, माघ १ । नेपाल खुला विश्वविद्यालय आठ महिनादेखि निमित्त उपकुलपतिका भरमा चलेको छ । यति धेरै समयसम्म पूर्ण जिम्मेवारीसहितको मूल नेतृत्व नहुँदा विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधि प्रभावित भएका छन् ।

विश्वविद्यालयका तत्कालीन उपकुलपति प्राडा। लेखनाथ शर्माको चार वर्षे कार्यकाल गत जेठ १८ गते सकिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असारदेखि विज्ञान सङ्कायका डिन प्राडा इन्द्रबहादुर कार्कीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको छ । उनको डिनको पदावधि पनि यही माघ २ गते सकिँदैछ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका कुलपति देवेन्द्र पौडेलले उपकुलपति नियुक्ति प्रक्रिया छिट्टै अघि बढ्ने जानकारी दिँदै भने, “उपकुलपति नहुँदा विश्वविद्यालयमा समस्या परेको सत्य हो तर कहिलेकाहीँ यस्तै हुँदो रहेछ । अब छिट्टै यो रिक्त अन्त्य हुनेछ ।” मन्त्रालयले विश्वविद्यालयको रिक्त रजिस्ट्रारमा पुस ११ गते प्राध्यापक गोविन्द विष्टलाई नियुक्त गरेको थियो तर प्रमुख कार्यकारीको भूमिकामा रहने उपकुलपतिको जिम्मेवारी निमित्तलाई दिँदा विश्वविद्यालयमा समस्याको चाङ लागेको एक अधिकारीले बताए ।

निमित्त उपकुलपतिको जिम्मेवारीमा रहे पनि उनले अहिलेसम्म कार्यकारी परिषद्को बैठक बोलाउन सकेका छैनन् । सभामा २३ सदस्य रहन्छन् । आर्थिक वर्ष सुरु भएको छ महिनासम्म बजेट तथा कार्यक्रम पारित गरिएको छैन । विश्वविद्यालयको बजेट कार्यकारी परिषद्ले पारित गरेपछि मात्रै वार्षिक सभामा लैजानुपर्छ । बजेट पारित नहुँदा पेस्की खर्चमार्फत आर्थिक तथा प्रशासनिक खर्च टारिरहेको छ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्