खाद्य कम्पनीलाई धान विक्री गर्ने किसान बढे



जनकपुर,माघ ३ । सरकारले धानको खरिद मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा धान बेच्न आउने किसान बढेका छन् । मूल्य निर्धारण गरी धान खरिद गर्न टोकन वितरण गर्न थालेपछि धान विक्री गर्न किसान आउने क्रम बढेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय जनकपुरधामका प्रमुख उपेन्द्र लिम्बूले चालु आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १५ हजार क्विन्टलमात्रै धान खरिद गर्ने जानकारी दिए । गत आव २०७७/७८ मा यस कम्पनीले १६ हजार क्विन्टल धान खरिद गरेको थियो ।     

कम्पनीले अहिले दुई हजार ९०० का दरले प्रतिक्विन्टल धान खरिद गर्दै छ भने निजीस्तरको उद्योगमा प्रतिक्विन्टल दुई हजार २०० देखि दुई हजार ४०० सम्मको दर मात्र दिने भएपछि किसानले आफ्नो धान कम्पनीमा बेच्नका लागि तछाडमछाड गरेका छन् ।

यता, कम्पनीले सीमित परिमाणमा धान खरिद गर्ने भएपछि किसानबीच आफ्नो धान बेच्न हौसिएका छन् । कम्पनीका प्रमुख लिम्बूले भने, ‘निजीस्तर भन्दा कम्पनीको धानको मूल्य बढी भएको र कम्पनीले सीमित धान मात्रै खरिद गर्ने जानकारी भएपछि टोकन लिन किसानबीच तछाडमछाड भएको छ ।’ सबै किसानको धान विक्री गर्ने मौका उपलब्ध हुने उद्देश्यले कम्पनीले यस वर्षप्रति किसानको बढीमा ४० क्विन्टलका दरले खरिद गर्ने नीति लिएको जानकारी उनले दिए । तर यसरी अनुपातमा कम्पनीले धान खरिद गर्ने भएपछि धनुषाका ३५० किसानले मात्रै कम्पनीलाई धान बेच्न सक्ने भएकाले टोकन लिनका लागि अहिले किसानको भीड बढेको हो ।

लक्ष्मीनियाँ गाउँ पालिकाका किसान लक्ष्मेश्वर यादवले निजीस्तरका उद्योगी व्यापारीभन्दा यसपटक सरकारले धान खरिद गर्ने मूल्य केही बढाइदिएकाले किसानलाई ठूलो राहत भएको बताए । यता, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले व्यापारीको धानमा मिसावट हुने भएकाले बजारको भन्दा बढी मूल्य निर्धारण गरेर किसानलाई हौसला प्रदान गरिएको बताएको छ ।

यद्यपि सीमित स्रोतका आधारमा ३५० बाहेकका किसानका लागि यस वर्ष पनि कुनै व्यवस्था गर्न नसकिने कार्यालयले बताएको छ । गोदामको अभाव, व्यवस्थापन गर्न नसकिने भएकाले कार्यालयले लक्ष्यअनुसारको धानमात्रै खरिद गर्ने गरेको प्रमुख लिम्बूले बताए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्