नुवाकोटका बाढीपीडितलाई ५० हजार रुपैयाँको खरिद कुपन वितरण



नुवाकोट,कात्तिक १८ । ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीबाट घर ध्वस्त भएका नुवाकोटका बाढीपीडितलाई नगद खरिद कुपन वितरण सुरु गरिएको छ । विदुर नगरपालिकामा घर क्षति भएका परिवारले दैनिक उपभोग्य सामग्री खरिदका लागि ५० हजार रुपैयाँको कुपन पाउन थालेका हुन् ।

प्रलयकारी बाढीले नुवाकोटका चार स्थानीय तहमा ठूलो जनधनको क्षति गरेको थियो । बाढीबाट विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका प्रभावित भएका थिए । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढीले जिल्लाका चार स्थानीय तहमा दुई हजार ८३१ घरमा क्षति पुर्‍याएको छ ।

बाढीबाट सबैभन्दा बढी क्षति विदुर नगरपालिकामा भएको छ । नगरपालिकाभित्र दुई हजार ५५४ घरमा क्षति पुगेको छ । त्यस्तै, बेलकोटगढी नगरपालिकामा १९५, तारकेश्वर गाउँपालिकामा ४८ र किस्पाङ गाउँपालिकामा ३४ घरमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीका कारण नुवाकोटमा दुई हजार ७२३ जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताएका छन् ।

बाढी गएको दुई महिना बितिसक्दा पनि उचित पुनर्वासको व्यवस्था हुन नसकेको पीडितहरूले गुनासो गरेका छन् । यसैबीच, विदुर नगरपालिकाका बाढीपीडित परिवारलाई चुजी फाउन्डेसनले ५० हजार रुपैयाँ बराबरको सामग्री खरिद कुपन वितरण गरेको छ ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठका अनुसार कुपनमार्फत प्रभावित परिवारले आफ्नो आवश्यकता र रुचिअनुसार खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक अन्य सामग्री खरिद गर्न सक्नेछन् । सबै परिवारलाई एउटै प्रकारका राहत सामग्री उपलब्ध गराउनुको सट्टा उनीहरूलाई आफ्नै आवश्यकताअनुसार सामग्री छनोट गर्ने सुविधा प्रदान गर्न कुपन वितरण गरिएको उनले बताए ।

नगरपालिकाका अनुसार उक्त ५० हजार रुपैयाँ बराबरको खरिद भौचर विदुर नगरपालिकाका एक हजार ५७७ बाढीपीडित परिवारले प्राप्त गर्नेछन् । कुपनमार्फत प्रभावित परिवारले भाटभटेनी सुपरमार्केटबाट आफूलाई आवश्यक सामग्री खरिद गर्न सक्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्