मनसुन समीक्षा बैठक सम्पन्न, विपद् जोखिम न्यूनीकरणका लागि उच्चस्तरीय संयन्त्र बनाउन जोड



काठमाडौं,कात्तिक १८ । यस वर्षको मनसुन अवधिमा भएका विपद्का घटना, देखिएका चुनौती तथा समस्या र समाधानका लागि प्राप्त सिकाइबारे मनसुन २०८३ समीक्षा बैठक सम्पन्न भएको छ ।

सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको बैठकले जलवायु तथा मनसुनी विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सम्भावित जोखिम क्षेत्रहरूमा २४ सै घण्टा खट्ने समर्पित उच्चस्तरीय संयन्त्र स्थापना र सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।

बैठकमा आगामी दिनमा हुनसक्ने जलवायु तथा मनसुनी विपद्बाट बच्न आधुनिक प्रविधिको जडान तथा प्रयोग, अन्तरदेशीय पूर्वसूचना आदानप्रदान, पूर्वाधार निर्माणअघि बहुप्रकोपीय जोखिम आकलन तथा खोज, उद्धार र राहत सामग्रीको अग्रिम व्यवस्थापन गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको थियो ।

प्राधिकरणले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनअनुसार यस वर्षको मनसुन अवधिमा रसुवा–भोटेकोशी बाढीबाहेकका विपद् घटनामा देशभर १३३ जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता र २२६ जना घाइते भएका छन् । रसुवा–भोटेकोशी बाढीको विवरण भने छुट्टै प्रतिवेदनमार्फत सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद्का घटनामा सरकार, गैरसरकारी संस्था, नागरिक समाज र सञ्चार क्षेत्रबीचको सहकार्य, सहयोग तथा समन्वयबाट क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले विपद्का समयमा सबै पक्षको सहयोग र समन्वयका लागि अपिलसमेत गर्नुभयो ।

भोटेकोशी बाढीले धेरै पाठ सिकाएको उल्लेख गर्दै कार्यकारी प्रमुख उप्रेतीले आगामी दिनमा पूर्वसूचना प्रणाली, जोखिम आकलन, खोज तथा उद्धार र राहत वितरणलगायतका कार्यलाई थप सबल तथा प्रभावकारी बनाउन प्राधिकरणले नीतिगत र कार्यगत रूपान्तरणका लागि गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्