बेँसीसहर–चामे सडक कालोपत्र शुरू



लमजुङ,माघ ३ । ट्र्याक खोलेको करिब ३ दशकपछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न थालिएको हो ।     

२०५१ सालमा यस खण्डअन्तर्गत बेँसीसहरबाट खुदीसम्म मोटरबाटोको ट्र्याक खोल्ने काम भएको थियो । बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको करिब सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्न पहिलो चरणको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

‘सडक चौडाइ गर्ने, पर्खाल निर्माण, कल्भर्ट हाल्नेलगायत काम भइरहेको छ,’ उनले भने । पाँच दशमलव पाँच मिटर सडक, एक दशमलव एक मिटरको नाली तथा एक मिटर चौडाइको पैदल बाटो निर्माण भइरहेको छ । सो काम सकिएपछि अस्फाल्ट प्रविधिको कालोपत्र गरिनेछ । पहिलो चरणको काम आगामी असारसम्ममा सकिनेछ । आशिष अनेस्ट जेभी चितवनले २०८० असार मसान्तसम्म कालोपत्र सक्ने गर्नेगरी गत असारमा सम्झौता गरेको हो । सो कार्यका लागि कुल ५२ करोड ९६ लाख रुपैयाँ खर्च हुने अधिकारीले जानकारी दिए । बर्खाका कारण असोजदेखि मात्र काम शुरू भएको आयोजनाले बताएको छ ।

बेँसीसहरदेखि खुदीसम्मको करिब साढे सात किलोमिटर सडक खण्डभित्र पर्ने बेँसीसहर नगरपालिका–६ स्थित ३०० मिटर लामो खरखरेभिरका लागि चाँडै बोलपत्र आह्वान गरिने भएको छ । खुदीबाट मनाङसम्म सडकको ट्र्याक नेपाली सेनाले २०६९ सालमा खोलेर डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको हो । उक्त ६५ किलोमिटर लामो सडकले लमजुङ र मनाङलाई जोडेको छ । लमजुङतर्फ ३५ किलोमिटर तथा मनाङतर्फ ३० किलोमिटर सडक पर्छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्