राप्ती प्राविधिक शिक्षालय सार्न मुख्यमन्त्री केसीको निर्देशन



बुटवल,माघ ७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले प्रदेशको स्थायी राजधानी निर्माणमा जोडतोडका साथ लागेका छन् । राजधानी निर्माण र व्यवस्थापनलाई तीव्र गराउनको लागि मुख्यमन्त्री केसीले निर्देशन दिन थालेका छन् । उनले सरकारको पहिलो सपना भनेको राजधानी निर्माण एवं व्यवस्थापन भएको बताउँदै राजधानी व्यवस्थापन तीव्र गतिमा गर्नुपर्ने भएकोले राप्ती प्राविधिक शिक्षालयलाई फागनुको १२ गते भित्र सार्नका लागि निर्देशन दिएका छन् ।

राजधानी व्यवस्थापन तथा राप्ती प्राविधिक शिक्षालयको स्थानान्तरण समितिको बैठकमा मुख्यमन्त्री केसीले लुम्बिनीको पहिलो सपनास्वरुप स्थायी राजधानी निर्माण गर्ने रहेको बताउँदै आफ्नो नेतृत्वमा रहेको सरकारको ऐतिहासिक एवं प्रदेशवासीलाई परिणाम दिन सकिने महत्वपूर्ण कार्य भएको उल्लेख गरे । मुख्यमन्त्री केसीले भने, “प्रदेश सरकारको सपनाको एउटा आयाम हो, त्यसमा तपाईहरु सबैले प्रदेश सरकारलाई सहयोग गर्नुहोस् तपाईहरुको योगदान प्रदेश सरकार र प्रदेशवासीले मुल्यांक गर्नेछ ।”उनले स्थायी राजधानी बनाउनको लागि सबैले सहयोग गर्न आग्रह गर्दै प्रदेश सरकारले आफ्नोतर्फबाट राजधानी निर्माणमा कुनै पनि कसुर वाँकी नराखी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मुख्यमन्त्री केसीले राजधानी निर्माणका लागि राप्ती प्राविधिक शिक्षालयले छिटो प्रक्रिया अगाडि बढाएमा त्यसमा ग्रामीण, पर्यटन एवं पूर्वाधार मन्त्रालयले त्यसको व्यवस्थापनका लागि सबै तयार गर्ने बताए । उनले स्थानान्तरणका लागि राप्ती प्राविधिकलाई प्रदान गरेको १० करोड रुपैयाँको कार्ययोजना बनाएर पेश गर्नका लागि प्राविधिक शिक्षालय प्रमुख शालिकराम डाँगीलाई निर्देशन दिएका हुन् ।

प्रदेशसभा पनि निर्माण अन्तिम चरणमा रहेको अवस्थामा शिक्षालय फागुन १२ गतेभित्र सरेमा प्रदेश राजधानीमा मुख्यमन्त्री कार्यालय तथा अन्य मन्त्रालय जानेका लागि ढोका खुल्नेछ । मुख्यमन्त्रीमा नियुक्त भएसंगै केसीले नियमित रुपमा राजधानी सार्ने तयारीका लागि गृहकार्य गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्