विदेशी मुद्रामा ऋणको ब्याज बेञ्चमार्क ब्याजदरका आधारमा



काठमाडौं,माघ १० । बैंकहरूले निर्यातयोग्य उद्योगहरूलाई विदेशी मुद्रामा प्रदान गर्दै आएको कर्जाको ब्याज सम्बद्ध देशको बेञ्चमार्क ब्याजदरका आधारमा निर्धारण गर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले आइतवार निर्देशन जारी गर्दै हालसम्म निर्यातका लागि विदेशी मुद्राको कर्जामा ब्याजदर निर्धारण गर्न लिने आधार ‘लाइबोर दर’लाई हटाएर ‘बेन्चमार्क ब्याजदर’ प्रयोग गर्न निर्देशन दिएको हो ।

नयाँ प्रावधानअनुसार बैंकहरूले तयारी पोशाक, गलैंचा, पश्मिना, हस्तकलालगायत वस्तु निर्यातकर्तालाई परिवत्र्य विदेशी मुद्रामा ‘प्रि–सिपमेन्ट‘ र ‘पोस्ट–सिपमेन्ट’ कर्जा प्रवाह गर्दा एकवर्षे बेन्चमार्क ब्याजदरमा १ दशमलव ७५ प्रतिशत थप गरी कर्जाको ब्याजदर निर्धारण गर्नुपर्नेछ ।

हालसम्म विदेशी मुद्राको ब्याजदर लाइबोर दरका आधारमा निर्धारण हुँदै आएको थियो । बैंकहरूले लिवर दरमा १ दशमलव २५ प्रतिशत थप गरी विदेशी मुद्राको कर्जाको ब्याजदर निधारण गर्दै आएका थिए ।

अन्तरराष्ट्रिय रूपमा लिवर दरको प्रयोग हट्दै गएकाले नेपालमा पनि यसलाई हटाइएको हो । यसबाट निर्यातयोग्य कर्जाको ब्याजदरमा भने प्रभाव नपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

निर्देशनअनुसार बैंकहरूले विदेशी मुद्रामा ऋण प्रवाह गर्दा जुन देशको मुद्रामा ऋण माग भएको छ । उक्त देशमा प्रचलित ओभर नाइट दरहरूलाई बेञ्चमार्क मान्नुपर्नेछ । अमेरिकी डलरमा ऋण दिँदा सेक्युयर्ड ओभरनाइट फाइनान्स रेट (एसओएफआर) यूरोका लागि स्टर्लिङ ओभरनाइट इन्टर बैंक एभरेज रेट, जापानी येनका लागि टोकियो ओभरनाइट एभरेज रेटलाई आधार मान्नुपर्नेछ ।

त्यस्तै कर्जा प्रदान गरेपछि बैंकहरूले राष्ट्र बैंकमा पुनर्कर्जा माग गरेमा असल कर्जाको तमसुकको धितो राखेर एकवर्षे ‘बेञ्चमार्क ब्याजदर’मा शून्य दशमलव ७५ प्रतिशत थप ब्याजदरमा पुनर्कर्जा उपलब्ध गराउनेछ । यसअघि लिवरदरमा शून्य दशमलव २५ प्रतिशत थप गर्ने व्यवस्था थियो ।

हाल कायम रहेको ऋण सम्झौतामा डिसेम्बरको अन्त्यपश्चात् ‘लिवर’ सट्टा फलब्याक प्रोभिजनिङको व्यवस्था गरिएको भए सोहीअनुसार कार्यान्वन गर्न र उक्त व्यवस्था नभएमा ऋणदाता र ऋणी दुवैको सहमतिमा लागतमा ५० बेसिस प्वाइन्ट थप गर्न सकिने व्यवस्था छ । अमेरिकी डलरमा अंकित ‘लिवर बेन्चमार्क ब्याजदर’ १ वर्षको अवधिको कायम भएको हकमा जुन ३० सन् २०२३ सम्म र यूरो र जापानी यानको हकमा ६ महीना अवधि भएको हकमा भने त्यसको भ्यालु डिसेम्बर ३१ सन् २०२२ सम्म हुने निर्देशनमा उल्लेख छ ।

क्रिप्टो कारोबार नगर्न चेतावनी
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीलगायत डिजिटल मुद्रामा लगानी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । आइतवार सूचना जारी गर्दै केन्द्रीय बैंकले क्रिप्टोकरेन्सी, हाइपर फन्डमा लगानी तथा पिरामिड शैलीको नेटवर्क मोर्किटिङमा आबद्ध नहुन सचेत गराएको हो ।

भर्चुअल करेन्सीले नेपालको विनिमय कारोबारमा मान्यता नपाएको भन्दै त्यस्ता गैरकानूनी वित्तीय औजारमा लगानी र कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैध तरीकाले रकम विदेशिने हुँदा त्यस्तो कारोबारमा संलग्न नहुन सचेत गराउँदै कारोबार गरेको भेटिएमा ऐनअनुसार कारबाही हुने राष्ट्र बैंकले चेतावनीसमेत दिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्