माओवादीले २७ माघमा पदाधिकारी छान्ने



काठमाडौं, माघ १०। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोको टुंगो आगामी बैठकबाट लगाउने भएको छ । यस्तै, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड समेत गर्ने तयारी माओवादी केन्द्रले गरेको छ ।

आगामी २७ माघमा बस्ने केन्द्रीय समिति बैठकबाट सर्वसम्मत नभएको अवस्थामा निर्वाचनबाटै पदाधिकारी टंगो लगाउने तयारी माओवादीको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार एक परिपत्र जारी गर्दै बाँकी रहेको केन्द्रीय समितिलाई पूर्णता दिँदै कार्यविभाजन समेत गर्ने उल्लेख गरेका छन् ।

सर्वसम्मतिमा पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो टुंगो लाग्न नसके केन्द्रीय समितिबाट निर्वाचन गरेरै टुंग्याउने आन्तरिक तयारी माओवादीको छ ।

११ पुसदेखि १८ पुसमा काठमाडौंमा भएको माओवादी केन्द्रको आठौं महाधिवेशन केन्द्रीय समिति घोषणा गर्दै सकिएको थियो । त्यसपछिको केन्द्रीय समिति बैठकले अध्यक्षमा दाहाललाई चयन गरे पनि अन्य पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँडलगायतका काम बाँकी नै रहेको छ ।

केन्द्रीय समितिको अर्को निर्णय नभएसम्मका लागि यसअघिका सबै प्रदेश समिति, जिल्ला समन्वय समिति, विभाग र जनवर्गीय संगठनको इन्चार्ज यथावत् नै राखिएको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्