बढ्दो संक्रमणले सरकारी सेवा अस्तव्यस्त



काठमाडौं, माघ १० । कोरोना संक्रमणको कारण देशभर सरकारी सेवा अस्तव्यस्त भएको छ। अधिकांश सरकारी कार्यालयहरूले अत्याबश्यकीय सेवाबाहेक सबै सेवा बन्द गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालका अनुसार जिप्रका काठमाडौंमा कार्यरत ६७ जना कर्मचारीमध्ये करिब ५० जना कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ।

जसको कारण जिप्रका काठमाडौंबाट प्रदान गर्दै आएको नागरिकता, नागरिकताको प्रतिलिपि, पासपोर्ट, तथा राष्ट्रिय परिचयपत्र जस्ता सेवा पूरै बन्द गरिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल आफैं कोरोना संक्रमित भएका छन्। उपत्यकाका ३ जिल्लाले आइतबारदेखि उपत्यकाका सरकारी कार्यालयमा आलोपालो प्रणाली लागु गरेका छन्। धेरैजसो कार्यालयले भिडभाड हुने सेवाहरू नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट, लाइसेन्स, जग्गा खरिद बिक्री जस्ता सेवा बन्द भएका छन्। यसैगरी माघ ११ गतेदेखि लोकसेवा आयोगका सबै परीक्षा स्थगित गरिएको छ।

गृह मातहतका कर्मचारीमध्ये झण्डैझण्डै आधाजसोमा कोरोना संक्रमण देखिएपछि फ्रन्टलाइनका सेवा बन्द गरिएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंका धेरैजसो कर्मचारीमा कोरोना संक्रमण देखिएपछि शुक्रबार र आइतबार गृह मन्त्रालयका कर्मचारीलाई पठाएर काम सम्पादन गरिएको छ ।

भूमि व्यवस्थापन विभाग र नापी विभागले पनि धेरैजसो ठाउँमा जग्गा प्रशासन, खरिद–बिक्री, नक्सा प्रिन्ट जस्ता सेवा बन्द गरेका छन्।

अहिले अधिकांश सरकारी कार्यालयमा आधाजसो कर्मचारी संक्रमित अवस्थामा छन्। जसको कारण धेरैजसो सरकारी कार्यालयहरू सुनसान झैं देखिएका छन्।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्