अर्थमन्त्रीद्वारा कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन आग्रह



काठमाडौं,माग ११ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन आग्रह गरेका छन् ।

सोमवार भर्चुअल माध्यमबाट भएको नेपाल राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रमा कम्तिमा दुई गुणा लगानी बढाउन आग्रह गरेका हुन् । 

‘यो ५७ औं वार्षिकोत्सव समारोह सँगसँगै बन्ने नयाँ कार्यक्रममा यहाँहरूले आफ्नो ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्यागिक क्षेत्रको लगानीलाई अवश्य पनि वृद्धि गर्नुहुनेछ’, उनले भने, ‘यसलाई सकेसम्म दुई गुणा वृद्धि गर्नुहुनेछ । जसबाट राष्ट्रिय पूँजी निर्माण, उत्पादन तथा रोजगारीमा  महत्वपूर्ण योगदान पुग्नेछ ।’ उनले सरकारको नीति पनि उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको स्मरण गराउँदै त्यसमा लगानी बढाउन आग्रह गरे ।

मन्त्री शर्माले आत्मनिर्भर हुनका लागि लगानी अति आवश्यक रहेको बताउँदै बैंकले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने पनि बताए । उनले राष्ट्रिय वाणिज्य बैंक सरकारी वित्तीय संस्था भएकाले यसले मोडेलको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति हो’, उनले भने, ‘यो रणनीतिमा रहेर यस बैंकले वित्तीय क्षेत्रमा एउटा मोडल स्थापित गर्नुपर्छ ।’ उनले बैंकले मोडेल स्थापित गरेर अन्य वित्तीय संस्थाहरूलाई पनि शिक्षा दिन सक्नुपर्ने बताए ।

पछिल्लो समय प्रविधिको युग रहेको बताउँदै मन्त्री शर्माले बैंकले शुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (यूएसएसडी) प्रशंसनीय रहेको बताए । उनले यसबाट इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको लाभ ग्राहकले लिन सक्ने पनि बताए ।  

त्यस्तै उनले यो प्रविधिबाट वित्तीय साक्षरता तथा वित्तीय पहुँच वृद्धि हुनेमा पनि विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा आफुसमेत सहभागी भई कदमहरु चालिएकोले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधारभई उत्पादकत्व बढेको र पुनः आउनसक्ने चुनौतीको सामना गर्न बैंक तयार भइरहनुपर्ने बताए ।

उनले अहिलेको अवस्थामा जोगीएर प्रणालीलाई जोगाउनुपर्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाले तल्लोवर्गका नागरिकका जीवनस्तर उकास्ने गरी लगानी गर्न आग्रह गरे । 

बैंक सञ्चालक समितिका अध्यक्ष डा बलराम पाठकले आफ्नो वित्तीय अवस्था तथा परिसूचकहरु उत्कृष्ट रूपमा प्रस्तुत गर्न सफल यो बैंक बैकिङ क्षेत्रका सबै क्षेत्रमा नेतृत्वदायी भूमिका वहन गर्न सफल भएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै बैंकले डिजिटल सेवालाई जोड दिइरहेको बताए । उनले २०७७ पुस मसान्तसम्म बैंकले २ खर्ब ४५ अर्ब रुपैंया निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए । 

आजभन्दा ५७ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पुर्याउने उद्धेश्यका साथ स्थापना भएको यो वैंक देशको सातै ओटा प्रदेशमा र ७७ ओटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक हो ।

हाल देशभर बैंकका २५८ ओटा शाखा कार्यालय, २४५ ओटा एटीएम, ४१ ओटा स्थानमा एक्सटेन्सन काउण्टर, ९८ ओटा स्थानमा शाखारहित बैंकिंग सेवा संचालनमा रहेका छन् । कार्यक्रममा कर्मचारी सम्मान कार्यक्रम, बैंकमा २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक घोषणा गरिएको थियो । 

भर्चुलअ माध्यमबाट सञ्चालन गरिएको कार्यक्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा सुरेन्द्र उप्रेती, अर्थ सचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्कर, डेपुटी गभर्नरहरु, शेयरधनीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकशरु, बैंक सञ्चालक समितिका सदस्यहरु लगायतको भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्