विलासी तथा उपभोग्य वस्तुकै लागि ४ खर्ब बाहिरियो



काठमाडौं,माघ ११ । चालू आर्थिक वर्षको पहिलो ६ महीनामा नेपालले विभिन्न मुलुकबाट करिब ४ खर्ब रुपैयाँ बराबरको विलासी तथा उपभोग्य वस्तुको आयात गरेको छ । मुख्यगरी पेट्रोलियम पदार्थ, मोबाइल, सवारीसाधन तथा पार्टपुजा, फलाम तथा स्टील पाता, कच्चा सोयाबिन तेल, पाम तेल, धान–चामल र सुनचाँदी रू. ३ खर्ब ८८ अर्ब बराबरको पैठारी भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा ६ महीना अवधिमा मोबाइल सेट मात्रै २५ अर्ब रुपैयाँभन्दा बढीको भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रू. ५ अर्बले बढी हो ।

आर्थिक वर्ष २०७७/७८ को पुससम्ममा रू. २० अर्ब ६३ करोडको ३६ लाख ६४ हजार मोबाइल सेट आयात भएको थियो । चालू आवको यसै अवधिमा रू. २५ अर्ब ६२ करोडको ३५ लाख ६४ हजार मोबाइल सेट आयात भएको छ ।

मोबाइल सेट आयात संख्यात्मक रूपमा घटे तापनि यसको मूल्य र भन्सार दर बढ्दा गत आवको तुलनामा ५ अर्बभन्दा बढी बाहिरिएको हो । मोबाइल सेटको आयातबाट सरकारले ४ अर्ब ५ करोड ५३ लाख २२ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

सो अवधिमा पेट्रोलियम पदार्थका लागि मुलुकबाट रू. १ खर्ब २६ अर्ब र सवारीसाधन तथा पाटपुर्जाका लागि रू. ७२ अर्ब बाहिरिएको छ । यस्तै, फलाम तथा स्टील पाता/क्वाइलमा रू. ४० अर्ब ९२ करोड बाहिरिएको छ । यसैगरी कच्चा सोयाबिन तेल रू. ३६ अर्ब ५४ करोड, पाम तेल रू. २७ अर्ब ४९ करोड, चामल रू. २३ अर्ब १४ करोड, सुन रू. २२ अर्ब ३ करोड र चाँदी १५ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

साउनदेखि पुससम्ममा कुल ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ५१ दशमलव १३ प्रतिशत धेरै हो । गत आवको ६ महीनामा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

सरकारले आयात नियन्त्रण गर्न पुस पहिलो साता नियन्त्रणमुखी प्रावधान ल्याएको थियो । तर, तथ्यांकमा भने त्यसको प्रभाव खासै परेको देखिँदैन । पुसमा मात्र १ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । बढ्दो आयात र कमजोर निर्यातका कारण व्यापार घाटा चुलिएको छ । विभागको तथ्यांक अनुसार ६ महीनामा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४६ दशमलव ६४ प्रतिशत बढी हो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्