राष्ट्रियस्तरका विकास बैंकको नाफा १६ प्रतिशतले वृद्धि



काठमाडौं,माघ ११ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा राष्ट्रियस्तरका आठओटा विकास बैंकको नाफा १६ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ ।

विकास बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका विकास बैंकहरू गरिमा, महालक्ष्मी, लुम्बिनी, मुक्तिनाथ, ज्योति, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा, सांग्रिला डेभलपमेन्ट बैंकले चालू आवको दोस्रो त्रैमाससम्म रू. ३ अर्ब २० करोड १७ लाख नाफा कमाएका छन् । गतवर्षको सोही अवधिमा यी बैंकको नाफा रू. २ अर्ब ७३ करोड ९४ लाख रहेको थियो ।

यी ८ विकास बैंकको नाफामा वृद्धि भएको भए पनि वितरणयोग्य नाफामा भने कमी आएको छ । गतवर्षको दोस्रो त्रैमाससम्मको तुलनामा कामना, ज्योति र मुक्तिनाथको वितरणयोग्य नाफा उच्च दरले घटेकाले ८ विकास बैंकको वितरणयोग्य नाफामा कमी देखिएको हो । यी आठओटा विकास बैंकको गतवर्ष कुल रू. १ अर्ब ७४ करोड ८० लाख वितरणयोग्य नाफा भएकोमा यो वर्ष घटेर रू. १ अर्ब ६९ करोड ८६ लाखमा झरेको छ ।

यो गतवर्षको सोही अवधिको तुलनामा २ दशमलव ८२ प्रतिशतले कमी हो ।

टप १ मा रहेको मुक्तिनाथको नाफा घट्यो
राष्ट्रिय स्तरका आठओटा विकास बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउने पहिलो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकको नाफा गतवर्षको तुलनामा घटेको छ । यो बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । गतवर्षको सोही अवधिमा रू. ६१ करोड ५५ लाख नाफा कमाएको थियो । मुक्तिनाथले ८ विकास बैंकहरूको तुलनामा सबैभन्दा बढी नाफा कमाएको छ । तर, गतवर्ष कमाएको नाफाभन्दा चालू आवमा यो बैंकको नाफा २ दशमलव १४ प्रतिशतले घटेको छ ।

दोस्रोमा सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ । गरिमाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म्मा रू. ४९ करोड २९ लाख नाफा कमाएको छ । गतवर्षको सोही अवधिमा यो बैंकको नाफा रू. ३९ करोड ३५ लाख रहेको थियो । गतवर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा बैंकको नाफा २५ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ ।

महालक्ष्मीको नाफा ३१ प्रतिशतले वृद्धि
महालक्ष्मी विकास बैंकको नाफा गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ३१ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. ३४ करोड ६८ लाख नाफा कमाएको थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा बैंकले रू. ४५ करोड ६२ लाख नाफा कमाएको छ ।

लुम्बिनी विकास बैंकको नाफा ३४ प्रतिशतले वृद्धि
गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा लुम्बिनी विकास बैंकको नाफा चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ३४ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. २६ करोड १८ लाख नाफा कमाएको थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३५ करोड १७ लाख नाफा कमाएको छ ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ३३ प्रतिशलते वृद्धि
गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ३३ दशमलव ५९ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. २६ करोड ११ लाख नाफा कमाएको थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३४ करोड ८८ लाख नाफा कमाएको छ ।

ज्योति विकास बैंकको नाफा १२ प्रतिशतले वृद्धि
गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा ज्योति विकास बैंकको नाफा १२ दशमलव ५७ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. ३० करोड ५५ लाख नाफा कमाएको थियो भने चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा रू. ३४ करोड ४० लाख नाफा कमाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५८ प्रतिशतले वृद्धि
गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५८ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा रू. १६ करोड ४८ लाख नाफा कमाएको बैंकले चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा रू. २६ करोड १८ लाख नाफा कमाएको छ ।

कामना सेवा विकास बैंकको नाफा करीब १२ प्रतिशतले घट्यो
कामना सेवा विकास बैंकको गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा ११ दशमलव ८९ प्रतिशतले नाफा घटेको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. ३९ करोड ४७ हजार नाफा कमाएकोमा चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा रू. ३४ करोड ३६ लाख नाफा कमाएको छ ।

महालक्ष्मी विकास बैंकको वितरणयोग्य नाफा १२० प्रतिशतले वृद्धि
महालक्ष्मी विकास बैंकको वितरणयोग्य नाफा १२० दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमासम्म यो बैंकको वितरणयोग्य नाफा रू. १२ करोड ४७ लाख रहेकोमा चालू आवमा वृद्धि भएर रू. २७ करोड ५० लाख पुगेको छ ।

त्यसैगरी लुम्बिनी विकास बैंकको वितरणयोग्य नाफा ५२ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्म रू. १६ करोड ३५ लाख वितरणयोग्य नाफा कमाएको बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा वृद्धि गरेर रू. २४ करोड ९४ लाख पुर्‍याएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा ११८ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्म रू. ८ करोड २४ लाख रुपैयाँ वितरणयोग्य नाफा भएकोमा चालू आवको दोस्रो त्रैमाससम्ममा वृद्धि भएर रू. १८ करोड ४ लाख पुगेको छ ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा २८ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ । यो बैंकको गतवर्षको दोस्रो त्रैमाससम्म रू. १६ करोड ९८ लाख वितरणयोग्य नाफा भएकोमा यो वर्ष वृद्धि भएर रू. २१ करोड ८० लाख पुगेको छ ।

त्यसैगरी गरिमा विकास बैंकको वितरणयोग्य नाफा ४१ दशमलव १४ प्रतिशतले वृद्धि भएको छ । यो बैंकको गतवर्षको दोस्रो त्रैमाससम्म रू. २५ करोड २३ लाख वितरण योग्य नाफा भएकोमा यो वर्ष वृद्धि भएर रू. ३५ करोड ६१ लाख पुगेको हो ।

कामना सेवाको वितरणयोग्य नाफा धेरै घट्यो
राष्ट्रियस्तरका आठओटा विकास बैंकमध्ये तीनओटाको वितरणयोग्य नाफा घटेको छ । चालू आवको दोस्रो त्रैमाससम्म मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र कामना सेवा विकास बैंक लिमिटेडको वितरणयोग्य नाफामा कमी आएको छ । उक्त अवधिसम्ममा सबैभन्दा बढी वितरणयोग्य मुनाफामा कमी आउनेमा कामना सेवा विकास बैंक रहेको छ । यो बैंकको गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा वितरणयोग्य नाफा ६४ दशमलव ४१ प्रतिशतले घटेको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकको वितरणयोग्य नाफा रू. २७ करोड १९ लाख रहेकोमा चालू आवको दोस्रो त्रैमाससम्ममा घटेर रू. ९ करोड ६७ लाखमा सीमित भएको छ ।

त्यसैगरी मुक्तिनाथ विकास बैंकको वितरणयोग्य नाफा ५७ दशमलव ७२ प्रतिशतले घटेको छ भने ज्योति विकास बैंकको वितरणयोग्य नाफामा ३६ दशमलव २० प्रतिशतले कमी आएको छ । मुक्तिनाथ विकास बैंकको गतवर्षको दोस्रो त्रैमाससम्म वितरणयोग्य नाफा रू. ५२ करोड ५५ लाख रहेको थियो । चालू आवको दोस्रो त्रैमासमा यो बैंकको वितरणयोग्य नाफा घटेर रू. २२ करोड २१ लाखमा सीमित भएको छ ।

त्यसैगरी ज्योति विकास बैंकको गतवर्षको दोस्रो त्रैमाससम्ममा वितरणयोग्य नाफा रू. १५ करोड ७५ लाख थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा घटेर रू. १० करोड ५ लाखमा झरेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्