कोरोना कहर बढ्दै सुनसान बन्दै पर्यटकीय स्थल



सुनसरी,माघ १३ । कोरोनाको तेस्रो लहरको संक्रमण तीव्र बढ्दै गएपछि प्रशासनले भीडभाड हुने स्थानमा रोक लगाएको छ । यसले प्रदेश १ का पर्यटकीय स्थल पुनः सुनसान बन्दै गएका छन् । केही महीना अघिदेखि चलायमान देखिन थालेका पर्यटकीय क्षेत्र पछिल्लो समय ओमिक्रोन भेरियन्टसहितको संक्रमण बढ्दै गएपछि सुनसान हुन थालेका हुन् ।

कोरोना महामारीको सन्त्रास बढ्दै गएपछि सरकारले गरेको कडाइका कारण प्रदेशका पर्यटन गन्तव्यहरूमा अहिले आन्तरिक तथा बाह्य पर्यटक आगमन ठप्प भएको छ । सुनसरी, मोरङ, तेह्रथुम, धनकुटाका मुख्य पर्यटकीय गन्तव्यमा पर्यटक आगमन ठप्पप्रायः हुँदा सम्बद्ध व्यवसायी चिन्तित छन् ।

हरेक समय पर्यटकको भरिभराउ हुने प्रदेश १ का पर्यटकीय स्थल धनकुटाको भेडेटार, हिले, पाख्रिबास, संखुवासभा तेह्रथुम र ताप्लेजुङको संगम स्थल गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे), सुनसरी र उदयपुरको सिमानामा पर्ने कोशीटप्पु, मोरङको बेतना सिमसार क्षेत्र, सुनसरीको तालतलैया, सुनसरीकै वराह क्षेत्र–विजयपुर र इलामको कन्याममा अहिले पर्यटक आगमन ठप्प छ ।

होटल व्यवसाय बन्द भएपछि दैनिक लाखौंको आम्दानी गुमेको व्यवसायी बताउँछन् । कोरोनाको पहिलो र दोस्रो लहरका कारण पर्यटक व्यवसायमा ठूलो धक्का लागेको र अहिले पुनः तेस्रो  लहरले थप मारमा परेको उनीहरूको गुनासो छ । सरकारले होटल व्यवसाय गर्नेलाई कम ब्याजदरमा ऋण दिने व्यवस्था गरेअनुसार धेरै होटल खोलिएका थिए ।

धनकुटा होटल एसोसिएसनमा १३० होटल आबद्ध छन् । सामान्य अवस्थामा यहाँका होटलमा दैनिक ४० लाखभन्दा बढीको कारोबार हुने गरेको छ । सिजनमा धनकुटाको भेडेटारमा दैनिक करिब ५ हजार आन्तरिक तथा बाह्य पर्यटक घुम्न आएको संघले बताएको छ । कोरोनाका कारण नाम्जेमा सञ्चालित घरबास समेत बन्द भएको छ । नाम्जेमा सञ्चालित होमस्टे गतवर्ष नेपालकै उत्कृष्ट भएर पुरस्कृत भएको थियो ।

कोरोनाकै कारणले संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा तिनजुरे मिल्के जलजले, सुनसरी उदयपुरको सिमानामा पर्ने कोशीटप्पु, मोरङको बेतना सिमसार क्षेत्र, सुनसरीको तालतलैया, वराह क्षेत्र र इलाम कन्याम पनि सुनसान भएका छन् ।

इटहरीको पर्यटकीय स्थल तालतलैयामा एक सातायता पर्यटक घटेका छन् । त्यस्तै इटहरीकै इपिल्याण्ड वाटरपार्कमा पनि पर्यटक आगमन घटेको छ । सुनसरीमा समेत जोखिम बढेको भन्दै सावधानी अपनाउन प्रशासनले अनुरोध गर्दै आएको छ । भीडभाड हुने क्षेत्रहरू सञ्चालन नगर्न सूचना जारी गरेलगत्तै पर्यटकीय क्षेत्रमा पर्यटकीय चहलपहलमा कमी आएको छ ।

बन्दाबन्दीका कारण गतवर्षको ९ महीना पर्यटन व्यवसाय प्रभावित भएकोमा अब पनि लकडाउन भए धराशयी हुने व्यवसायी बताउँछन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि राहत प्याकेज नल्याएसम्म लकडाउनको कल्पना गर्न नसकिने उनीहरूको भनाइ छ ।

सरकारले संक्रमण फैलन नदिन उच्च स्वास्थ्य सुरक्षा अपनाउन पुस २७ गते निर्देशन जारी गरेसँगै पर्यटकीय क्षेत्रमा चहलपहल घट्न थालेको हो । कोरोना कहर र सरकारको निर्देशनका कारण तालतलैया क्षेत्रमा पर्यटकीय गतिविधि ठप्पप्रायः बनेको तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनाल बताउँछन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्