ह्वात्तै घट्यो चाँदीको आयात



बजारमा अभाव हुन थाल्यो : महासंघ

काठमाडौं,माघ १४ । नेपाल राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो ।

एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक २ अर्बभन्दा बढीको चाँदी आयात हुने गरेको थियो । तर, राष्ट्र बैंकको सो व्यवस्थापछि पुसमा ६ करोड २ लाखको मात्रा चाँदी आयात भएको छ । भन्सार विभागबाट प्राप्त पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

विभागको तथ्यांक अनुसार मङ्सिरदेखि नै चाँदी आयातमा कमी आएको छ । गत मङ्सिरमा पनि २९ करोड रुपैयाँको मात्रा चाँदी आएको छ । त्यसभन्दा अघिल्ला महीनाहरू कात्तिकमा २ अर्ब ५ करोड, असोजमा ३ अर्ब ५१ करोड, भदौमा ४ अर्ब र साउनमा २ अर्ब ६२ करोड रुपैयाँको चाँदी आएको छ । समग्रमा चालू आवको ६ महीनामा १२ अर्ब ५७ करोडको चाँदी भित्रिएको तथ्यांक छ ।

पछिल्लो समय आयात बढी हुँदा नेपालसँग भएको विदेशी मुद्रा उच्च परिमाणमा बाहिरिने गरेको छ । तर, सोअनुसार विदेशी मुद्रा आर्जन हुन सकेको छैन । फलस्वरूप विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै राष्ट्र बैंकले चाँदी लगायत विलासिताका वस्तुको आयात गर्न एलसी खोल्दा मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

नेपालमा पछिल्लो समय चाँदीको आयात उच्च मात्रामा हुने गरेको थियो । चालू आवको पहिलो ३ महीनामै १० अर्बभन्दा बढीको चाँदी आयात भएको थियो । त्यसपछि राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यसमा कडाइ गरेको थियो ।

एलसी खोल्दा मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण पर्याप्त मात्रामा चाँदी आयात गर्न नसकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताएका छन् । तत्कालीन अवस्थामा चाँदी आयातमा कडाइ गर्नु स्वागतयोग्य भए पनि यसलाई लामो समयसम्म लैजान नहुने उनको भनाइ छ ।

‘अहिले नेपालसँग भएको विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ । त्यसअनुसार चाँदी आयातमा गरिएको कडाइ व्यावहारिक नै छ,’ उनले भने, ‘तर परिस्थिति सहज भएपछि यसलाई खुला गर्नुपर्छ ।’

चाँदी आयात घटेपछि बजारमा यसको अभाव पनि देखिन थालेको अध्यक्ष शाक्यले बताए । ‘चाँदीको आयात घटे पनि व्यवसायीसँग भएको चाँदीको मौज्दातले बजारको माग पूरा गरिरहेका थियौं । तर, अहिले व्यवसायीसँग भएको मौज्दात सकिएको छ,’ उनले भने, ‘पछिल्लो ४–५ दिनदेखि बजारमा चाँदीको अभाव देखिन थालेको छ । अब बजारको माग धान्न चुनौती हुने देखिन्छ ।’

अभाव नै भए पनि व्यवसायीले चाँदी लुकाउने भने नगरेको अध्यक्ष शाक्यको भनाइ छ । ‘अभाव भए पनि हामीले आफूसँग भएको चाँदी सहज रूपमा सप्लाई गर्दै आएका छौं । तर, सरकारले यो अवस्थालाई दृष्टिगत गर्दै चाँदी आयातमा सहजीकरण गर्नुपर्छ,’ उनले भने । बजारको माग धान्न चाँदी आयात गर्नैपर्ने उनको भनाइ छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्