फलाम उद्योगमा सरकारी नीतिको प्रभाव : घट्यो बिलेट आयात, स्पन्ज आइरन बढ्यो



वीरगञ्ज,माघ १६ । सरकारले स्वदेशमै डण्डीको कच्चा पदार्थ (बिलेट) उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै भन्सार राजस्व र अन्तःशुल्कको दर हेरफेर गरेपछि आयातमा त्यसको प्रभाव देखिएको छ ।

वीरगञ्ज सुक्खा बन्दरगाह हुँदै भित्रिने बिलेटको आयात घटेको छ । बिलेट उत्पादनमा प्रयोग हुने स्पन्ज आइरनको आयात परिमाण उल्लेख्य बढेको सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकृत सन्तोषकुमार न्यौपानेले बताए ।

सुक्खा बन्दरगाह फलाम उद्योगको कच्चा पदार्थ भित्रिने मुख्य नाका हो । यस्ता वस्तु सुक्खा बन्दरगाहबाट भित्रिने मुख्य वस्तुको अग्रस्थानमा पर्दछन् । भन्सारका कार्यालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०७८/७९ को साउनदेखि पुस महीनासम्मको अवधिमा यो नाकाबाट बिलेट आयात ७१ हजार मेट्रिक टन (मेट) ले घटेको छ ।

चालू आवको ६ महीने अवधिमा १ लाख २३ हजार मेट बिलेट आयात भएको भन्सारको तथ्याङ्कले देखाउँछ । गत आवको समीक्षा अवधिमा यस्तो आयात १ लाख ९४ हजार मेट थियो ।  

यता स्पन्ज आइरनको आयात उल्लेख्य परिमाणले बढेको छ । गत वर्षको पहिलो ६ महीनामा १ लाख ४० हजार मेट स्पन्ज आइरन भित्रिएको थियो । चालू आवको सोही अवधिमा यो परिमाण १ लाख ७४ हजार मेट पुगेको छ ।

सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेट प्रतिस्थापन विधेयकमार्फत स्पन्ज आइरनमा भन्सार महशुल शून्यमा झारेको थियो । स्वदेशमा उत्पादित बिलेटमा अन्तःशुल्कसमेत हटाएको सरकारले आयातित बिलेटमा भने  बढाएको छ ।

यसअघि लाग्दै आएको प्रतिकिलो १ रूपैयाँ ६५ पैसा अन्तः शुल्कलाई बढाएर २ रूपैयाँ ५० पैसा पुर्‍याइएको थियो । बिलेट आयातमा ५ प्रतिशत भन्सार महशुल यथावत् राखिएको छ । त्यसअघि स्पन्ज आइरनको आयातमा पनि ५ प्रतिशत भन्सार महशुल लाग्दै आएको थियो ।

सरकारको यो नीतिको समर्थन र विरोधमा स्वदेशी डन्डी उद्योगी नै विभाजित भएका थिए ।

स्वदेशमा बिलेट उत्पादन गर्ने सीमित उद्योगलाई पोसेर बिलेट आयात गर्ने उद्योगलाई अप्ठेरोमा पारिएको भन्दै विरोध हुँदै आएको छ ।  

सरकारले भने स्वदेशमै कच्चा पदार्थ उत्पादन गरी डन्डी उत्पादनलाई पूर्ण आत्मनिर्भर बनाउन यो नीति लिइएको बताउँदै बचाउ गर्दै आएको छ ।

केही उद्योगहरूले कबाड गलाउने भट्टीबाट बिलेट उत्पादन गर्दै आएका छन् । त्यस्ता उद्योगले स्थानीय स्तरमा सङ्कलित कबाडी फलामबाट बिलेट बनाउँदा बिलेटको गुणस्तर मिलाउन स्पन्ज आइरन मिसाउने गरेका छन् ।

कबाडी फलाम गलाएर कच्चा पदार्थ तयार गर्दा लागत कम पर्ने उद्योगी बताउँछन् । यस्तो बिलेटबाट उत्पादित डन्डीमा तोकिएको गुणस्तर कायम राख्न स्पन्ज आइरनको प्रयोग हुने गरेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्