जाल्पा लघुवित्तको आईपीओमा मागभन्दा ५५.८६ गुणा बढी आवेदन



काठमाडौं,माघ २४ । माघ २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा सोमवारसम्म मागभन्दा ५५ दशमलव ८६ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार सोमवार साँझ ६ बजेर १५ मिनेटसम्ममा २२ लाख १४ हजार ९१९ जना आवेदकहरुले २ करोड ७२ लाख ५७ हजार ७० कित्ता शेयर खरीदको लागि आवेदन दिएका हुन । कम्पनीको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ । 

प्राथमिक बजारमा तीन महिनापछि निष्कासनमा आएको यस कम्पनीको आईपीओ खरिदका लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको छ । कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । 

कम्पनीले कुल कित्ता आईपीओ मध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरेको छ । यी वाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो । 

आवेदकहरुले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्