भारतबाट लिक्वीड अक्सिजन आयात



स्वदेशी उत्पादक पलायन हुने चिन्ता

काठमाडौं,माघ २५ । नेपालमै अक्सिजन ग्यास उत्पादन पर्याप्त हुँदाहुँदै पनि भारतबाट लिक्वीड अक्सिजन आयात हुन थालेपछि स्वदेशी उत्पादकहरू निराश देखिन थालेका छन् ।

कोरोनाका कारण अक्सिजनको हाहाकार भइरहेकोमा हाल त्यस अवस्था टरेकाले भएका उद्योग पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् । यस्तो बेला भारतबाट आयात हुँदा उत्पादकहरू पलायन हुने चिन्तामा देखिएका हुन् ।

बजारमा अक्सिजनको माग घटेपछि केही उद्योगहरू बन्द भएका छन् । सञ्चालनमा आएका उद्योगहरू पनि पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् । यस्तोमा भारतबाट आयात हुँदा मर्का परेको नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव सारडाले बताए ।

स्वदेशी उद्योगीहरू नै आपूर्ति गर्न सक्षम हुँदाहुँदै पनि केही व्यवसायीहरूले लिक्वीड अक्सिजन आयात गरी भण्डारण गरेर अस्पतालहरूमा सप्लाई गरिरहेको उनको भनाइ छ ।

मुलुकमा भएका २६ ओटा उद्योगमा रू. ४ अर्ब ५० करोड लगानी छ । बजारमा अक्सिजनको माग नहुँदा उत्पादन क्षमतालाई घटाएर करीब ४० प्रतिशतमा झारेका उद्योगीहरू आयातित अक्सिजनका कारण थप मर्कामा परेका हुन् ।

आयातित अक्सिजन नै अस्पतालहरूमा बढी आपूर्ति भइरहेको शारडा बताउँछन् । लिक्वीड अक्सिजन आयात हुँदा स्वदेशमा उत्पादन भएको अक्सिजनको खपत ⋲वात्तै घटेको उनले बताए । कोरोना महामारीका बेला अक्सिजन आपूर्तिका लागि सरकारले ठूला अस्पतालहरूलाई अक्सिजन प्लान्ट राख्न र क्षमता बढाउन अनिवार्य गरेको थियो । त्यस्तै सरकारले नयाँ अक्सिजन उद्योगहरू सञ्चालनका लागि प्रोत्साहन गर्ने नीति अघि सारेको थियो ।

पुस मसान्तसम्ममा उद्योग स्थापना गर्नेलाई सहुलियत दिने सरकारी घोषणाका बीच हाल जम्मा दुईओटा नयाँ उद्योग आएको भए पनि ती उद्योगले उत्पादन शुरू गरिसकेका छैनन् । बजार साँघुरो हुँदा एभरेस्ट, आईएमीजस्ता उद्योग बन्द भएका छन् ।

शारडाले ९ महीनादेखि सरकारी अस्पतालले अक्सिजन लगेबापतको भुक्तानी नदिएको पनि बताए । यसैगरी टेन्डर नहुँदा २ वर्षदेखि अक्सिजनको मूल्य वृद्धि नभएको भन्दै उनले दर रेट नयाँ निर्धारण र आयातलाई निरुत्साहित गर्न सरकारले नीति ल्याउनुपर्नेमा जोड दिए । सामान्य अवस्थामा अस्पताल र औद्योगिक क्षेत्रमा जाने अक्सिजनको अंश ५०/५० प्रतिशत रहेकोमा आयातित अक्सिजन अस्पतालमा जाँदा नेपालको अक्सिजन औद्योगक क्षेत्रमा बढी गएको छ ।

सरकारले ठूला अस्पतालहरूलाई प्लान्ट राख्न अनिवार्य गरेपछि माग घटेको र केही व्यवसायीहरूले भारतबाट लिक्वीड अक्सिजन ल्याउँदा स्वदेशी उत्पादन अस्पताल तथा मेडिकलहरूमा कम जान थालेको छ । संघका महासचिव नारायणदत्त तिमिल्सिनाले नेपाल अक्सिजन ग्यासमा आत्मनिर्भर रहेको बताउँछन् । आन्तरिक स्रोत प्रयोग गरी रोजगारी सृजना गर्ने र स्वदेशी पूँजीलाई बाहिर जान नदिने उद्योगमा सरकारले लिक्वीड अक्सिजनलाई आयात गर्न दिएर हतोत्साहित गर्न खोजेको उनले बताए । ‘भएका उद्योगलाई दीगो रूपमा चलाउन, पूँजी बाहिर जान नदिन र रोजगारी सृजना गर्ने सरकारी नीति थियो भने भएका उद्योगहरू कहाँ छन्, कसरी चलाउने र समस्याका विषयमा किन ध्यान दिएन ?’ उनले प्रश्न गर्दै भने, ‘अहिलेको अवस्थाले उद्योगमैत्री वातावरण नभएको स्पष्ट छ ।’

पहिला कुल क्षमताको २५ प्रतिशतसम्म उत्पादन गर्दै आएका उद्योगहरूले कोरोना महामारीमा शतप्रतिशत अक्सिजन उत्पादन गरेका थिए । सरकारले औद्योगिकमैत्री वातावरण नबनाउने, दररेट कायम नगर्ने र वितरण प्रणालीलाई व्यवस्थित गर्ने कुरामा ध्यान नदिँदा लगानी डुब्ने जोखिम रहेको उनको भनाइ छ ।

आयातले बजार र माग क्षणिक समय धाने पनि दीर्घकालीन रूपमा स्वदेशी उत्पादनले नै भरथेग गर्ने उनको भनाइ छ । सबै उद्योगहरू पूर्ण क्षमतामा आए र थप नयाँ उद्योगहरू आएमा पनि नेपालले अक्सिजन ग्यास निर्यात गर्न सक्ने क्षमता रहेको उनी बताउँछन् ।

कोभिडको दोस्रो लहरमा राज्यले कोटा तोकिदिएर अस्पतालहरूले लगेका सिलिन्डरहरू अझै उद्योगीहरूले पाउन सकेका छैनन् भने त्यसको तथ्यांक पनि संघसँग छैन । राज्यले प्रशासन लगाएर उठाएका सिलिन्डरहरू अझै फिर्ता नभएको र भुक्तानी पनि नपाएको तिमिल्सिनाले बताए । उनले तुरुन्त सिलिन्डर फिर्ता गर्न आग्रह गरे । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्