६ महीनामा रू. ३ अर्ब ८३ करोडको स्याउ आयात



काठमाडौं,फागुन २ । पछिल्लो समय नेपाली बजारमा स्याउको आयात निरन्तर बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ६ महीनामा मात्रै ३ अर्ब ८२ करोड ७२ लाख ६० हजार रुपैयाँको स्याउ आयात भएको भन्सार विभागको तथ्यांक छ, जुन गत आवको सोही अवधिको तुलनामा  २३ प्रतिशतले बढेको छ  ।

गत आव २०७७/७८ को ६ महीनामा ३ अर्ब १० करोड ५८ लाख ७० हजार रुपैयाँको स्याउ आयात भएको थियो । नेपालले यो वर्ष चीन, भारत, टर्की, गिनी बिसाउ, इन्डोनेशिया लगायत मुलुकबाट स्याउ आयात गरेको छ ।  

६ महीना अवधिमा सबैभन्दा बढी स्याउ चीनबाट भित्रिएको छ । चीनबाट मात्रै २ अर्ब ६८ करोडकोआयात भएको छ । यस्तै भारतबाट १ अर्ब १४ करोड ३९ लाख ७५ हजार, टर्कीबाट २६ लाख २५ हजार र गिनी बिसाउबाट १ लाख ६१ हजार रुपैयाँको स्याउ आयात भएको विभागको तथ्यांक छ ।

नेपाली बजारमा चिनियाँ स्याउ लोकप्रिय भएकाले सो मुलुकबाट आउने स्याउको आयात धेरै भएको कुलेश्वरका व्यापारी अमर बानियाँले बताए । चीनको केरुङ नाकाबाट धेरै स्याउ भित्रिने गरेको उनको भनाइ छ । कोरोना महामारीका कारण सीमा नाकामा कडाइ भएकाले आयातमा समस्या भएको व्यवसायीले बताएका छन् । पहिले एक हप्तामा नेपाल आइपुग्ने फलफूल अहिले महीनौं लाग्ने गरेको उनीहरूको भनाइ छ । नेपाली बजारमा चीन र भारतबाट बढी मात्रामा स्याउ भित्रिने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए । नेपालको उत्पादनले उपभोक्ताको माग धान्न नसक्ने भएकाले पनि बाहिरी मुलुकहरूसँग निर्भर हुनुपरेको उनको भनाइ छ ।

‘नेपाली बजारमा स्याउको माग १२ महीना नै हुने गर्छ, माग अनुसार उत्पादन हुँदैन, आयातमा भर पर्नुको विकल्प छैन,’ उनले भने ।  श्रेष्ठका अनुसार बजारमा आन्तरिक रूपमा जुम्ला, मुस्ताङ, डोल्पा, मुगु, कालिकोट, हुम्ला, रुकुम पूर्व, बुझाङ, सोलुखुम्बुलगायत जिल्लाका स्याउ पनि आउने गर्छ । तर आन्तरिक उत्पादन न्यून हुने गरेको छ ।

अहिले स्थानीय बजारमा स्याउको मूल्य प्रतिकिलो न्यूनतम २५० देखि अधिकतम २८० रुपैयाँसम्म रहेको छ । नेपाली बजारमा विशेषगरी झोले र फुजी गरी दुई प्रकारको स्याउ पाइने कालीमाटी बजारस्थित खुद्रा व्यापारी हरिहर पण्डितले बताए । स्वदेशी स्याउको सिजनमा भारतीय र चिनियाँ स्याउको मूल्य घट्ने गर्दछ । सिजन सकिएपछि भने बाहिरबाट आउने स्याउको मूल्य वृद्धि हुन्छ । तुलनात्मक रूपमा बढी स्वादिलो हुने भएकाले धेरैजसो ग्राहकले नेपाली स्याउ नै मन पराउने गरेका छन् ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्