नुवाकोटमा आलुको मूल्य ह्वात्तै घट्यो, उचित मूल्य नपाउँदा किसान मारमा



नुवाकोट,फागुन ३ ।-आलुको उचित मूल्य पाउन नसक्दा नुवाकोटका किसान मारमा परेका छन् । आलुको सिजनमा स्थानीयले लगाएको आलुको उचित मूल्य नपाउदा यहाँका किसान मारमा परेका हुन् ।

स्थानीय बजारमा समेत भारतीय आलु आयात गरिएपछि मूल्यमा भारी गिरावट आएको यहाँका स्थानीय आलु ब्यापारी बताउँछन् । उचित मूल्य नपाएपछि यहाँका किसानले उत्पादन गरेको आलु बिक्री हुन छाडेका छन् ।

भारतीय आलु नेपाली बजारमा भित्रिएपछि आफूहरुले आलुको उचित मूल्य नपाएको थान्सिङस्थित भट्टथोकमा श्याम दिक्षितले बताए । “भारतीय आलुका कारण यो वर्ष पनि लागत मूल्य उठाउन मुस्किल परेको छ”, उनले भने,’उचित मूल्य नपाउँदा सड्ने तथा बिग्रेर जाने खतरा छ । बजार क्षेत्रमा स्थानीय उत्पादित आलुको तुलनामा भारतीय आलु सस्तो छ । त्यसैले स्थानीय आलुले बजार पाउन सकेको छैन ।”

बजारमा अहिले रातो आलु प्रतिकेजी रु ३० र सेतो आलु प्रतिकेजी रु २७ रुपैयाँका दरले बिक्री भइरहेको छ । छहरेका स्थानीय ब्यापारी श्याम डङ्गोलका अनुसार किसानबाट रुपैया १७/१८ मा आलू खरिद भैरहेको छ । मौसम बिग्रेको खण्डमा थप आलुको मूल्यमा गिरावट आउने ब्यापारी डङ्गोलले बताए । लगातार तीन वर्षदेखि घटेको आलुको मूल्य यो वर्ष पनि बढ्न नसकेपछि किसानले आलुखेतीको विकल्प खोज्न सक्ने सम्भावना बढेर गएको छ ।

“पहिले आलुखेतीबाट राम्रै फाइदा हुन्थ्यो, अब त लगानी उठाउन मुस्किल पर्न थालेको छ”, अर्का किसान बाबुकाजी डङ्गोलले भने, “गएको वर्ष पनि आलुखेतीबाट रु ४५ हजार नोक्सान भयो, अब ऋण तिर्न नसकिने भयो।” पाँच वर्ष पहिले प्रतिकेजी रु ३७ मा बिक्री भएको आलु अहिले रु २५ देखि रु ३० मा बेच्नुपरेको किसानहरु गुणा गर्छन् ।

जिल्लाको थान्सिङ, चौघडा, खानीगाउँ, गणेशस्थान, नर्जामण्डप, खरानीटार, सेउली बजार, तादी, बेलकोट, मदानपुरलाई आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । बजार मूल्य राम्रो नभएपछि केहि किसानले खेतबारीमै आलु जोख्ने तथा ब्यापारीलाई सस्तो मूल्यमा बिक्री गर्दै आइरहेका छन् ।

जिल्लामा धेरैजसो किसान शीतभण्डारणको पहुँचमा नभएकोले  आलु खेतीका किसान थप घाटामा पर्ने गरिएको कृषि जोनका राम पुडासैनीले बताए । जिल्लामा पर्याप्त शीतभण्डारका लागि पटक पटक कुरा उठे पनि अहिलेसम्म किसानका पक्षमा कुनै काम नभएको स्थानीयवासीले बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्