एमसीसी : संसदमा पेश होला ?



काठमाडौं,फागुन ४ । दुईपटक स्थगित प्रतिनिधिसभाको बैठक आज (बुधवार)बस्दै छ । बुधवारको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि टेबल हुने सम्भावना बढेको छ ।

नेपाली कांग्रेसले सदनबाट एमसीसीबारे निकास खोज्नुपर्ने निर्णय गरिसकेको छ र सभामुख अग्निकुमार सापकोटा पनि सदनबाट निकास खोज्नेबारे सकारात्मक बन्दै गएकाले एमसीसी प्रक्रियामा जाने सम्भावना बलियो बनेको हो ।

संसद्बाट एमसीसी सम्झौता पारित हुन दलीय सहमति भने जुट्न सकेको छैन । नेपाली कांग्रेसले यसलाई अनुमोदन गर्ने निर्णय लिएको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादीले ठोस निर्णय लिएका छैनन् । तर, यी दुवै दलले एमसीसीसहितका विषयमा छलफल गर्न बुधवार संसदीय दल बैठक डाकेका छन् ।

संशोधनविना अनुमोदन गर्न नहुने पक्षमा उभिँदै आएका यी दलहरूले अहिलेकै अवस्थामा एमसीसीलाई अघि बढाए संसद्मा टेबल हुन दिने तर अनुमोदनका पक्षमा मत नदिने सम्भावना बलियो छ । तर, सम्झौता पारित नभए सरकारमाथि नैतिक संकट पर्ने देखिन्छ । नेकपा एमालेले आफ्ना पूर्ववर्ती मागलाई सदनमा जोडतोडले उठाउँदै एमसीसीको प्रक्रियामा भागै नलिने सम्भावना बलियो छ ।

यो दलले एमसीसीबारे ठोस निर्णय लिएको छैन ।

एमाले संसदीय दलका सचेतक विशाल भट्टराईले सरकारले एमालेसँग कुनै छलफलै नगरी एमसीसी अघि बढाउन खोजेकाले सदन सुचारु गर्न आफूहरूले सहयोग नगर्ने स्पष्ट पारेका छन् । ‘सदन सुचारु गर्न हाम्रा पूर्ववर्ती माग सम्बोधन भएका छैनन्, सदनमा हाम्रो विरोध रहिरहनेछ, सरकारमा हामी छैनौं, एमसीसीबारे सरकारमा भएका दलले निर्णय लिएको राम्रो,’ उनको भनाइ छ ।

प्रतिनिधिसभामा एमसीसी पेश हुने विश्वास नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्त गरेका छन् । नेपाली कांग्रेस संसदीय दलको मंगलवारको बैठकले समेत एमसीसी संसद्मा पेश गरी अनुमोदनमा जानुपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री देउवाले कांग्रेस सरकारमा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्को विचार व्यक्त गर्ने दल नभएको संसदीय दलको बैठकमा बताउँदै कांग्रेस आफ्नो कर्तव्यबाट च्युत नहुने बताउनुभएको महामन्त्री थापाले बताएका छन् ।

यसैबीच, प्रतिनिधिसभा बैठक बस्नुअघि आज (बुधवार) कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । बुधवार बिहान साढे ११ बजे नयाँ बानेश्वरमा रहेको वीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेगरी सभामुख सापकोटाले बैठक आह्वान गरेका छन् । यो बैठकबाट एमसीसीलाई कार्यसूचीमा राखी संसद्मा पेश गर्ने सम्भावना बलियो छ । प्रतिनिधिसभाको बुधवार बस्ने बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी समावेश भने गरिएको छैन । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले निकालेको सम्भावित कार्यसूचीमा एमसीसीबाहेक अन्य दुई विषयलाई राखिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्